१७ फाल्गुन २०७३, मंगलवार

काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन थकालीले वाणिज्य मन्त्रालय नयाँ सोचका साथ अगाडि बढ्ेको बताएका छन् । वाणिज्य मन्त्री रोमी गौचन थकालीको अध्यक्षतामा बोर्ड अफ ट्रेडको सातौं बैठकमा उनले यस्तो धारणा राखेका हुन् ।


मन्त्री थकालीले मन्त्रालय र अन्तर्गतका निकायहरुको संस्थागत सुधार एवं क्षमता विकासमा जोड दिदै मन्त्रालय नयाँ सोचका साथ अगाडि बढि रहेको उल्लेख गर्दै विज्ञ एवं प्रतिनिधिहरुबाट प्राप्त राय र सुझावहरुलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताएका हुन् ।
बैठकमा आगामी आर्थिक वर्षहरुका लागि वाणिज्य क्षेत्रका नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा विस्तृत छलफल भएको छ । बैठकमा वाणिज्य मन्त्रालयका सचिवले छलफलका विषयहरुमाथि प्रकाश पार्दै चौधौं योजना,वाणिज्य क्षेत्रको नीति, रणनीति र मन्त्रालयले लिएका प्राथमिकताहरुका सम्बन्धमा मन्तव्य राखेका थिए ।
सचिवले वाणिज्य क्षेत्रले भोगी रहेका चुनौतीहरु लगायत वाणिज्य क्षेत्रको समग्र स्थितिको समिक्षा गर्दै आगामी दिनमा वाणिज्य क्षेत्रका लागि ठोस, नतिजामुखी र कार्यान्वयन योग्य राय सुझावहरु राख्न विज्ञ एवं प्रतिनिधिहरुलाई अनुरोध गर्दै खुला छलफल सत्रको सञ्चालन एवं संक्षेपीकरण गरेका थिए ।
बैठकमा उपस्थित नीजि क्षेत्रका छाता संगठनका अध्यक्ष एवं प्रतिनिधिहरु, विज्ञहरु एवं विभिन्न सरकारी निकायका प्रतिनिधिहरुले उत्पादन र उत्पादकत्व वृद्धि, निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन, व्यापार सहजीकरण, निर्यातमा प्रोत्साहन, अन्तरनिकाय समन्वय लगायत व्यापार अवरोध न्यूनीकरण गर्न विभिन्न निकायहरुले खेल्नु पर्ने भूमीका तथा कदमहरुका सम्बन्धमा महत्वपुर्ण राय, सुझाव र प्रतिक्रिया दिएका थिए ।
बैठकमा नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न र निर्यात बढाउन व्यापारका अवरोध हटाउनु पर्ने, उत्पादन बढाउनु पर्ने, वस्तु विशेष र क्षेत्र विशेष नतिजामुखी कार्यक्रम तर्जुमा गर्न आवश्यक भएकोले विज्ञहरुलाई सोही अनुसार आफ्ना भनाइहरु राख्न अनुरोध गर्दै गरे ।
बैठकमा उपस्थित राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेले नीतिगत, प्रक्रियागत विषयलाई केन्द्रविन्दुमा राखी नेपाल सरकारले वाणिज्य क्षेत्रका लागि कार्यान्वयन योग्य र ठोस कार्यक्रम निर्माण गर्न सम्बन्धित पक्षहरुसंग छलफल, संवाद गरिरहेको विषय उल्लेख गरे ।
बैठकको अध्यक्षता गरेका बाणिज्य मन्त्री थकालीले बैठकको क्रममा वाणिज्य क्षेत्रको विकासका लागि वाणिज्य नीति, २०७२ नेपाल व्यापार एकीकृत रणनीति, २०१६ र आवधिक योजनाको कार्यान्वयनका साथै सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न वाणिज्य मन्त्रालय प्रयत्नशील रहेको उल्लेख गर्दै बोर्ड अफ ट्रेडका सदस्य एवं प्रतिनिधिहरुलाई स्पष्ट र ठोस सुझावहरु राख्न अनुरोध गरेका थिए ।
मन्त्री थकालीले आगामी नीति तथा कार्यक्रम र बजेटमा निजी क्षेत्रको आवाजहरुको मन्त्रालयले अधिकतम रुपमा सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

LIVE TV