११ फाल्गुन २०७३, बुधबार
  • श्रीहरी पौडेल,

तनहुँ । मुआब्जा तथा क्षतिपूर्ति वितरणमा विभेद गरेको भन्दै तनहुँ जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा उत्रेका छन् । मुआब्जा वितरणको मूल्य निर्धारण गर्दा प्रभावितहरुसंग परामर्श नगरी हचुवाको भरमा गरेको भन्दै प्रभावितहरु अक्रोशित समेत बनेका छन् ।

बुधबार तनहुँ जलविद्युत आयोजनाले मुआब्जा तथा क्षतिपूर्ति वितरणमा विभेद गरेको भन्दै प्रत्यक्ष सरोकार डुबान क्षेत्र संरक्षण समिति र तनहुँ जलविधुत प्रत्यक्ष प्रभावित क्षेत्र सरोकार समितिले संयुक्त रुपमा विरोध ¥याली निकालेका हुन् ।
उक्त विरोध ¥याली दमौली बजार हुँदै तनहुँ जलविद्युत आयोजना परामर्श कार्यालय र जिल्ला प्रशासन कार्यायलमा पुगेर धर्नामा परिणत भएको थियो ।
४ वर्ष अगाडि मुआब्जा वितरण समितिले तनहुँ जलविद्युत आयोजना प्रभावित क्षेत्र काहुँशिवपुरको झापुटारका बासिन्दालाई प्रति आना १ लाख देखि ३ लाख रुपैयाँका दरले वितरण गरेको र जामुने, छाङ्ग, ऋषिङ्गरानीपोखरी, कोटदरबार, माझकोट, भिमाद, काहुँशिवपुर, साभुङ्गभगवतीपुर गाविसका प्रभावित क्षेत्रमा प्रति रोपनीको २ लाख देखि ८ लाख रुपैयाँ मुआब्जाको मूल्य निर्धारण गरेको भन्दै आन्दोलन गरेको तनहुँ जलविद्युत आयोजना प्रत्यक्ष प्रभावितहरुले बताएका छन् ।

मुआब्जाको मूल्य निर्धारण भने सरकारले गरेको तनहुँ जलविद्युत आयोजनाको जिकिर छ । तनहुँ जलविद्युत आयोजनाले प्रति रोपनी २ लाख रुपैयाँ देखि ८ लाख रुपैयाँ दरले मुआब्जा वितरण गर्न थालेको र २० घरपरिवारलाई करिब १ करोड ५० हजार रुपैयाँ बराबर मुआब्जा वितरण गरिसकेको बताइएको छ ।

सय ४० मेगावट क्षमताका जलाशय युक्त तनहुँ जलविद्युत आयोजना ५० अरब रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।

LIVE TV