२९ माघ २०७३, शनिबार

वीरगन्ज । नेपाल–भारत सहयोग मञ्च, वीरगन्जले आज यहाँ नेपालका लागि भारतीय महावाणिज्यदूत विसी प्रधानको सम्मानमा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।


सो अवसरमा नेपालका लागि भारतीय महावाणिज्यदूत बीसी प्रधानले भारत सरकारको सहयोगमा नेपालमा संचालित एकिकृत भंसार जाँचचौकी, हुलाकीमार्ग र विद्युत् ट्रान्समिशनलाईनलगायत विभिन्न विकास निर्माणका परियोजनाहरुलाई चाँडो सम्पन्न गर्ने हाम्रो प्राथमिकता रहेको बताए ।

मञ्चका कार्यवाहक अध्यक्ष बाबुलाल चाचानले नेपाल–भारत बीच वर्षौदेखिको मित्रवत् सम्बन्धलाई कसैले चाहेरपनि खल्बल्याउन नसक्ने बताउँदै भारत सरकारको सहयोगमा वीरगन्जलगायत यस क्षेत्रमा निर्माण भइरहेका विकास परियोजनालाई शीघ्र सम्पन्न गर्न महावाणिज्यदूतलाई आग्रह गरे ।

पत्रकार एवम् विश्लेषक चन्द्रकिशोर झाले वीरगन्ज नेपालको मानचित्रमा आफ्नो छुट्टै पहिचान बोकेको सहर भएको बताउँदै यस क्षेत्रका आर्थिक विषय नेपाल तथा भारत सरकार दुवैको प्राथमिकतामा पर्नुपर्ने धारणा व्यक्त गरे ।

शिक्षाविद् डा दीपक शाक्य र वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक टेमानीले वीरगन्ज र सीमावर्ती भारतीय सहर रक्सौलको विकासलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिदैं निर्माणाधीन एकीकृत भन्सार चौकी तथा विद्युत्सँग सम्बन्धित परियोजनाको निर्माण कार्यलाई तीव्रता प्रदान गर्नुपर्ने बताए ।

LIVE TV