२८ माघ २०७३, शुक्रबार

लमजुङ । उद्योग मन्त्री नबीन्द्रराज जोशीले आगामी पुस महिनाभित्र एक लाख बढी लघुउद्यमी बनाइने बताएका छन् । लघु उद्योग दर्ताका लागि विशेष कार्यक्रम सञ्चालन गर्न लागेको भन्दै आफ्नै कार्यकालमा उद्यमीहरुको सँख्या उल्लेख्य बृद्धि गर्ने उनको धाबी थियोे ।


लमजुङको सुन्दरबजार महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले प्रत्येक घरका युवा र महिला उद्यमी बन्नुपर्ने बताए । यसअघि लघु उद्योग दर्ताका लागि केहि अप्ठ्यारा प्रावधान रहेको भन्दै मन्त्री जोशीले उद्योग दर्ताको लागि सहज बनाएको दाबी गरे ।

प्रजातन्त्र दिवसको अवसरमा फागुनको ६ गते नै एक औपचारिक कार्यक्रम गरी लघु उद्योग सम्वन्धी विशेष सहुलियत कार्यक्रम सार्वजनिक गर्न लागेको समेत बताए । आगामी १० वर्ष पछि नेपाली युवा बिदेशिनु नपर्ने भनाई पनि उहाँले दोहो¥याए । विदेशिएका युवाहरुलाई स्वदेशमै रोजगारीको अवस्था सृजना गर्ने मन्त्री जोशीको दावी थियो । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा औद्योगिक मेला, व्यापारिक प्रदर्शनी, कृषि तथा जडिवुटि प्रदर्शनी, पर्यटन प्याकेज लगायत विबिध साँस्कृतिक कार्यक्रम आयोजना गरिएका थिए ।

 

LIVE TV