२७ माघ २०७३, बिहीबार

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधीले जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सिफारिस गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) कसलाई बनाउने भन्नेबारेमा विवाद चुलिरहेको समयमा गृहमन्त्री निधी चन्दको पक्षमा उभिएका हुन् ।

स्रोतले जानकारी गराए अनुसार गृहमन्त्री निधीले बिहीबार साँझ बसेको क्याबिनेट बैठकमै चन्दलाई आइजी बनाउने प्रस्ताव ल्याउन लागेका थिए । तर, समयाभावले प्रस्ताव पेश हुन नसकेको र आइतबारसम्म सरेको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्ड प्रहरीको चेन अफ कमाण्ड बिगार्न नहुने अडानमा रहेका छन । यसै अडानका पछि सभापति देउवासँग विवाद चर्किएपछि प्रधानमन्त्रीले विहीबार बिहानै मुख्यसचिव सोमलाल सुवेदीलाई बालुवाटारमा बोलाएर क्याबिनेट बैठक स्थगित गर्न भनेका थिए ।
तर, सत्य निरुपण आयोगको म्याद बिहीबार नै थप्नुपर्ने बाध्यकारी अवस्थाका कारण विहीबार अपरान्ह मन्त्रिपरिषद बैठक त बस्यो, तर त्यसले आइजीपीबारे कुनै छलफल भएन । कांग्रेस सभापति शेरबहादुर देउवाको वचन हार्न नसकेपछि गृहमन्त्री निधीले गृहसचिव लोकदर्शन रेग्मीलाई डीआईजी जयबहादुर चन्दका नाममा प्रस्ताव तयार पार्न बिहीबार निर्देशन दिएका छन् ।
गृहमन्त्रालय स्रोतले जानकारी गराए अनुसार गृहमन्त्री निधीले डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्तिका लागि टिप्पणी उठाउन गृहसचिवलाई निर्देशन दिएका छन् । अब आइतबार बस्ने मन्त्रिपरिषद बैठकले सो निर्णयमाथि निर्णय गर्नेछ । प्रहरी महानिरीक्षकका दाबेदारहरुमध्ये चन्द तेस्रो बरियताका डीआईजी हुन् ।
पहिलो बरियताका डीआइजी नवराज सिलवाल र दोस्रो बरियताका डीआइजी प्रकाश अर्यालको रोलक्रम मिचेर चन्दलाई आइजीमा सिफारिस गर्न लागिएको हो ।

LIVE TV