२७ माघ २०७३, बिहीबार

काठमाडौं । थेचोका बासिन्दाले महादेवको आराधना गरी माधवनारायण पर्व मनाएका छन् । पर्वमा बुधबार चोखोनितो भई कुलदेवताको आराधनासँगै व्रत बस्ने गरिन्छ ।

प्रत्येक महिनामा १र१ द्वादश नारायणको पूजा गर्ने चलन छ । प्रत्येक महिना नारायणको नाम फरक भएझैं, नारायणका ४ बाहुमा रहने शंख, चक्र, गदा, पद्म पनि फेरिन्छ । वैशाखमा मधुसूदन नारायण, जेठमा त्रिविक्रम, असारमा वामनजस्तै माघमा माधवनारायण पर्व मनाउने चलन रहेको ब्रह्मायणी टोल सुधार समिति अध्यक्ष पुष्प महर्जनले बताए ।
‘वाग्मती सभ्यतादेखि नै नेवारहरूको जीवनपद्धतिमा नवधा भक्तिको ठूलो प्रभाव छ,’ उनले भने, ‘नवधा भक्तिको अर्थ स्रष्टा अर्थात् ईश्वरलाई ९ प्रकारले श्रद्धापूर्वक भक्तिभाव गर्नु हो । जसमध्ये माधवनारायण एउटा हो ।’
उनका अनुसार पर्व तल्लो लाछीस्थित ब्रह्मायणी माघ महात्मा संघद्वारा आयोजना हुँदै आएको छ । ‘ठेचोमा बाहेक अधिकांश क्षेत्रमा यो पर्व लोप भइसकेको छ,’ उनले भने । यो माघ शुक्लपक्ष पूर्णिमादेखि फागुन शुक्ल पूर्णिमासम्म मनाइन्छ । पर्वमा प्रत्येक दिन बिहान नुहाइधुहाइपछि शंखजल ग्रहण गरी शंख ध्वनिसँगै महादेवको श्रुति महिमा उच्चरणसाथ गाउँ परिक्रमा गरिन्छ । पर्व बुधबार र बिहीबार विशेष रूपमा मनाउने चलन छ ।
बुधबार महादेवको मूर्तिलाई खटमा राखेर गाउँ परिक्रमा गराइएको थियो । ब्रह्माका रूपमा अर्धनग्न भई फेटा बाँधी काँध, कुम, हात र टाउकोमा दियो राखेर गाउँ परिक्रमा गराइयो ।

LIVE TV