२५ माघ २०७३, मंगलवार

पर्सा । पर्साको लखनपुर गाविसमा बाघको आक्रमणबाट १ जना प्रहरी अधिकृत सहित ८ जना स्थानीयवासी घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

बाघको आक्रमणबाट घाइते हुनेहरुमा पोखरीया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर शाह लगायत स्थानीयवासी लखनपुर गाविसका मोतिलाल यादव, तुफान पटेल, आसमान पटेल, दुखी पटेल, महेश पटेल, रघुवीर साह र रामनगरी गाविसका महेन्द्र सहनी रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट मानव वस्तीमा प्रवेश गरेको बाघले मंगलबार दिउँसो करिब १२ः४५ बजेको समयमा अचानक स्थानीयमाथि आक्रमण गरेको थियो । खेतमा काम गरिरहेका मोतिलाल यादव र महेन्द्र सहनीमाथि बाघले आक्रमण गरे पश्चात स्थानीय र प्रहरी उद्दार गर्न पुग्दा उनीहरुमाथि पनि बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । बाघको आक्रमणबाट गम्भीर घाइते भएका मोतिलाल यादव र महेन्द्र सहनीलाई वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरि थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ भने अन्य घाइतेहरुको वीरगन्जमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LIVE TV