२१ माघ २०७३, शुक्रबार
  • दानबहादुर बुढा,

मुगु । नेपालका हिमाली जिल्लाहरु प्राकृतिक जडीवुटीको अपार भण्डार नै हुन् । हिमाली भेगमा पाइने जडीबुटीको सही सदुपयोग हुन सकेको खण्डमा पनि नेपालको महत्वपूर्ण आयश्रोत हुन सक्ने अवस्था प्रष्ट छ । मानव शरीरका लागि आवश्यक हरेक औषधि निर्माण गर्न पुग्दो जडीुबटी हिमाली क्षेत्रमा छन् । तर प्रशोधन केन्द्रहरुको व्यवस्था नहुँदा जडीबुटी कौडीको भाउमा भारत निर्यात हुँदै आएका छन् ।

हिमाली जिल्ला मुगुमा पनि ठूलो परिमाणमा जडीबुटी उत्पादन हुँदै आएको छ । तर मुगुमा प्रशोधन केन्द्र नभएपछि जडीबुटीहरु कौडीको भाऊमा बाहिरी जिल्लाहरु हुँदै भारत तर्फ निर्यात हुँदै आएको छ । मुगुका विभिन्न गाविसको हिमाली क्षेत्रमा संकलन गरिने अत्तिस, कटुकी, चिराइतो, पदमचा, भोल्ते लगायत जडिबुटी तराइका जिल्लाहरु हुदै भारतमा निर्यात हुने गरेको छ ।
जिल्ला बन कार्यालयको अनुसार गत साउन देखि पुस समान्त सम्म कटुकी २९ हजार केजी, जटामासी १५ हजार १ सय २२ केजी, पदमचाल ८ हजार केजी, पाखनबेद ६ हजार केजी, तराई निर्यात भएको छ ।
बिषजरा २ हजार ३ सय केजी, धुपीपात ५० केजी, अत्तिस ६ सय केजी, चिराईतो ६ सय ६० केजी, साधारण च्याउ ८ सय ९० केजी, सतुवा २० केजी, वन लसुन १ सय १४ केजी निकाशी भएको छ । यस्तै काँकडसिलो १ हजार ५ सय ५० केजी, सुगन्धवाल १ हजार ६ सय ३० केजी गरि कुल ६ सय ४६ क्वीन्टल जडिबुटी नेपालगञ्ज हुदै भारततिर निकासी भएको छ ।
कटुकी, अत्तिस, जटामासी बिषजरा, चिराइतो लगायत जडिबुटी संकलनको लागि जिल्ला बन कार्यालय बाट ११ हजार ५ सय क्वीन्टलको इजाजत संकलन पूर्जी ब्यापारीले लिएका पाइएको छ । सडकले गर्दा संकलन भएको जडिबुटी सहजै तराई निर्यात हुन थालेको जिल्ला बन अधिकृत प्रेम शंकर चौधरीले जानकारी दिए ।

यो चालु आर्थिक बर्षको ६ महिना भित्रै जडिबुटीबाट करिव १६ लाख भन्दा बढी राजश्व संकलन भएको छ । मुगुमा विभिन्न ४६ प्रजातिका जडीबुटी पाइने गर्दछ । तर यसरी पाइने जडीबुटीको सही सदुपयोग गर्न तर्फ सरकारको ध्यान जान भने ढिला भइसकेको छ ।

LIVE TV