५ कार्तिक २०७३, शुक्रबार

 

काठमाडौँ, ५ कात्तिक । मानवमा व्याप्त हुँदै गएको मोह, लोभ र द्वन्द्वले सकारात्मक सोच अघि बढाउने मार्गमा तगारो उत्पन्न भइरहेको टिप्पणी गरिएको छ ।

सन्त निरङ्कारी मण्डलको आज ललितपुरमा भएको २७ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा सहभागी वक्ताहरुले ब्रह्मज्ञानको माध्यमबाट विश्व बन्धुत्व, प्रेम, शान्ति र मानवता स्थापना गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

सन्त निरङ्कारी मिसनलाई कुनै धर्म या सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा भएको हँुदा यसबाट मानव परमसत्ता परमात्माको बोध गराउने विश्वास गरिन्छ । अजर, अमर, अविनाशी ईश्वरलाई जान्न सकिन्छ भन्ने मान्यता राख्ने यस मिसनले मानवबीचमा प्रेम स्थापना गर्ने प्रयास गरिरहेको छ । सन्त निरङ्कारी मिसनमा हिन्दू, बौद्ध, मुस्लिम र क्रिश्चियन समुदायको समेत समान रुपले सहभागिता रहँदै आएको छ ।

विश्वका ६२ राष्ट्रमा फैलिएको मिसन नेपालमा २०४७ सालबाट मात्र संस्थापक रुपमा विस्तार हुन थालेको हो । सन्त निरङ्कारी मण्डलले धर्मले जोड्छ, तोड्दैन, धर्म होइन भावना परिवर्तन गरौँ भन्ने मान्यतालाई अघि बढाएको छ ।

अन्तर्राष्ट्रियस्तरमा आध्यात्मिक कार्यक्रमका साथै शिक्षा, स्वास्थ्य, रक्तदान, आँखादान, वृक्षरोपण, सरसफाइ, विपद् व्यवस्थापनमा पु¥याएको योगदानलाई कदर गर्दै सन् २०१२ मा संयुक्त राष्ट्रसङ्घले सन्त निरङ्कारी मण्डललाई सल्लाहकारका रुपमा सम्मानित गरेको थियो ।

साधारणसभाको उद्घाटन गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक एवम् समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले अध्यात्म र सत्सङ्गको माध्यमबाट मानिसलाई राम्रो काम गर्न प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद उमेश श्रेष्ठले मुलुकमा राजनीतिक स्थायित्व र कानुनी राज्यको अवधारणाको पूर्णरुपमा अभ्यास नभएसम्म अरु क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य हुन निकै कठिनाइ हुने बताउनुभयो ।

उहाँले भन्नुभयो– “रोजगारमूलक र आध्यात्मिक शिक्षा मुलुकमा आवश्यक छ । राज्यलाई समृद्ध तुल्याउन आर्थिक गतिविधि बढाउँदै उद्योग स्थापनामा जोड दिन आवश्यक छ ।”

संस्थाका अध्यक्ष नरबहादुर रावलले अयोग्यताको पहिलो लक्षण भनेको योग्यताको दम्भ भन्ने कुरालाई सदस्यहरुले सधैँ स्मरण गरेर काम गर्न आवश्यक छ भन्नुभयो ।

सो अवसरमा संस्थाका सदस्यका छोराछोरीमध्ये प्रवेशिका परीक्षामा उच्चतम् अङ्क ल्याउने छात्रछात्रालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । रासस

LIVE TV