५ कार्तिक २०७३, शुक्रबार

इलाम, कात्तिक । केही दिनदेखि उच्च पहाडी क्षेत्रमा चिसो बढ्न थालेपछि चरनका लागि बनाइएका चौँरी गोठ न्यानो स्थान खोज्दै बँेसीतर्फ सार्न थालिएको छ ।

इलामको सन्दकपुर, कालापोखरी, ताप्लेजुङको टिम्बुपोखरी, कालीखोला, पाँचथरको फालोटलगायत स्थानबाट चौँरीगोठ न्यानोतर्फ सार्न थालिएको हो । अत्याधिक चिसो हुन थालेपछि चौँरी आफैँ न्यानोस्थान खोज्दै उँधो झर्ने भएकाले चाँैरीपालक किसानले पुरानो खर्कतिर गोठ सार्ने गरेका हुन् ।

अत्यन्तै चिसो हुने क्षेत्रमा रहेका गोठ क्रमशः कम चिसो हुने क्षेत्रमा सार्दै लगिन्छ । चौँरी बस्दै आएको स्थानमा चिसो बढेकाले त्यहाँ भन्दा न्यानो स्थानमा चौँरी बस्न रूचाउँछन्, माइमझुवा– ९ का पेम्बाछिरिङ भोटियाले भन्नुभयो “चौंरी गोठसहित गोठाला समेत ओरालो लाग्छन् ”।

इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करिब ६० भन्दा बढी चौँरी र गोठसँगै गोठधनी पनि खाने, बस्ने सबै सरसामान लिएर न्यानो स्थानतर्फ झर्ने गर्छन् । सामूहिक रूपमा खर्कमा बनाइएका गोठमा तिनीहरू सर्ने गरेको उहाँले बताउनुभयो ।

असोज महिनादेखि गोठ उद्यौली झर्ने क्रम सुरू हुन्छ । लेकमा न्यानो नभएसम्म ती गोठ बेँसीमै रहन्छन् । मुख्यतया वैशाख महिनादेखि गोठ उभाँैली लाने क्रम चल्ने गरेको सुलुवुङका युवराज पौडेलले बताउनुभयो ।

उद्यौली झरेको अवस्थामा चौँरीबाट उत्पादन राम्रो हुने गरेको उहाँको भनाइ छ । चाँैरीसँगै भेडी गोठ पनि उँधो सार्न थालिएको छ । सयौँको सङ्ख्यामा रहेका भेँडासहितको गोठ तल झार्न थालिएको हो । भँेडीगोठ खर्क– खर्कमा केही दिन राख्दै तल गाउँसम्म ल्याउने गरिन्छ ।

जाडोयाममा टिम्बु पोखरीदेखि माथिका क्षेत्रमा पशु र मानिस बस्नसक्ने अवस्था हुदैँन । यसपाली सुरूमै चिसो भएकाले चौँरी गोठ बेंसीतर्फ झार्न थालिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV