५ कार्तिक २०७३, शुक्रबार

प्रस्ताव आइहाल्छ भन्ने लागेको थिएन: देउवा
एमाले र माओवादीका नेतासँग महाअभियोगको बारेमा कुरै नभएको होइन । किनकि, अख्तियार प्रमुखको विषयमा लामो समयदेखि प्रश्न उठेको थियो । मैले व्यक्तिगत रूपमा भेटेर पनि तपाईंको शैली सुधार्नुप¥यो, राजनीतिक पंक्ति मात्र होइन, ब्युरोक्रेसी पनि क्रूद्ध छ भनेर सुझाब दिएको थिएँ । तर, त्यसको कार्यान्वयन भएन । त्यो विषयमा के गर्ने भनेर ओली र प्रचण्डसँग पनि मेरो कुरा भएको हो । तर, अहिले नै महाअभियोग दर्ता होला भन्ने मलाई लागेको थिएन । प्रस्ताव दर्ता भइसक्यो, अब संस्थागत निर्णय गरौँ । यो महिना दिनसम्म चल्नसक्ने प्रक्रिया हो, हामी निर्णयमा पुग्न हतारो छैन ।
एमाले र माओवादीले हामीलाई छले : सिटौला
देशको ठूलो दल कांग्रेस सरकारमा छ, तर सरकारमा भएको माओवादीले प्रतिपक्षीसँग मिलेर यति ठूलो कदम उठाउँदा कांग्रेससँग छलफल नगर्नु अस्वाभाविक छ । एमाले र माओवादीले हामीलाई छाडेर र छलेर अघि बढ्न खोजेका हुन् । यो चिन्ताको विषय हो । तर, हामी महाअभियोगको पक्षमा उभिन सकेनौँ भने माओवादीसँगको सत्तासमीकरण टुट्छ । एमालेसँग झन् दूरी बढ्छ र संविधान कार्यान्वयन झन् जटिल बन्छ । त्यसैले समीकरण पनि बचाउने र संविधान पनि कार्यान्वयन हुने गरी निर्णय गर्नुपर्छ ।
एमाले लोकमानसँग रिसाएको हो :निधि
माओवादीका सांसद महाअभियोगको प्रस्तावक छन् । तर, प्रधानमन्त्रीसँग कुरा गरेपछि म ढुक्क छु, उहाँलाई त्यो विषयमा थाहा थिएन । बरु मलाई जानकारी के छ भने, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको घरमा केही समयअघि लोकमान र एमालेको नेताबीच भेट भएको हो । अख्तियारले आफ्ना नेताहरू मात्रै खेदेको भन्दै एमालेका नेताहरूले गुनासो गरेका थिए । अब माओवादी र कांग्रेसका केही नेतालाई पनि पत्र काट्न उनीहरूले अख्तियार प्रमुखलाई अनुरोध गरेका थिए । तर, एमालेले सोचेजस्तो भूमिका अख्तियार प्रमुखले पूरा गर्न सकेनन् । त्यसैले एमाले रिसाएर यो योजना बनाएको हो । त्यसमा प्रधानमन्त्रीको दलका केही नेता पनि सहभागी छन् ।-नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्
LIVE TV