२ कार्तिक २०७३, मंगलवार

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले सर्वोच्च अदालतले मुद्दा तामेलीको प्रयास गरिरहेका बेला क्यानडाबाटै थप १० दिन विदा स्वीकृत गराएका छन् । आयोगका प्रमुख आयुक्त कार्की असोज ३ गते एउटा कार्यक्रममा सहभागी हुन भन्दै क्यानडा गएका थिए । कार्कीले शुरुमा असोज ३ देखि २१ गतेसम्म क्यानडामा भ्रष्टाचार निवारणसँग सम्वन्धित निकायको बैठकमा भाग लिन भन्दै विदा स्वीकृत गराएका थिए ।

Image result for प्रमुख आयुक्त लोकमान सिंह कार्की
पहिलो चरणमा असोज २१ गतेसम्मको विदा स्वीकृत गराएर क्यानडा हिँडेका कार्कीले दशैं विदा सकिएको भोलिपल्टै असोज २८ गतेदेखि ३० गतेसम्म थप दुई दिनको विदा स्वीकृत गराएका थिए । त्यसपछि कार्कीले पुनः कात्तिक १ देखि १० गतेसम्म विदा मागेको र राष्ट्रपति कार्यालयले विदा स्वीकृत समेत गरिसकेको राष्ट्रपतिको कार्यालय स्रोतले बताएको छ ।
क्यानडामा रहेका कार्कीले विदा स्वीकृत गराउन पठाएका हरेक पत्र आयोगको लेटरहेडमा रहेको पनि राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । तर क्यानडामा भएका व्यक्तिले कसरी आयोगको लेटरप्याडमा विदा फारम भरे भन्ने सन्दर्भमा भने राष्ट्रपति कार्यालय स्रोतले बताउन चाहिरहेका छैनन् । दशैं विदामा बसेका कार्कीले असोज २८ गतेदेखि ३० गतेसम्म भैपरि विदा भन्दै स्वीकृत गराएका थिए । उनले पुनः कात्तिक १ देखि १० गतेसम्म घर विदा स्वीकृत गराएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV