२५ आश्विन २०७३, मंगलवार

मोरङमा घडेरी बिक्रिका लागि जग्गा दलालहरुले पछिल्लो समय नयाँ तरीका अपनाउन थालेका छन् । खेती योग्य जमीनमा प्लटिङ गर्ने, प्लटिङ गरेको जग्गा बिकाउनका लागि जग्गा दलाल आफैले घर बनाउने र बस्ती बसेको जस्तो देखाउने गरेको पाईएको छ । मोरङमा विगत ५ वर्ष देखि जग्गा दलालहरुले प्लटिङ गरिएको जग्गामा यसरी आफैले पक्की घरहरु निर्माण गरेर ग्राहकलाई आकर्षित गरिरहेका छन् ।

Image result for मोरङमा प्लटिङ
जग्गा दलालहरुले विराटनगर वडा नं. ७ स्थित रिंग रोड छेउछाउमा प्लटिङ गरिएको जग्गामा नयाँ घर बनाएर बसोबास गर्नेलाई जग्गा नै सित्तैमा दिने सम्मको प्रलोभन दिइएको स्थानीयहरुले बताएका छन् । सरकारले जग्गा विकास अर्थात प्लटिङ सम्बन्धी कानुन नल्याउदा प्लटिङ गर्ने कार्य नरोकिएको हो । सरकारले बजेट घोषणामा जथाभावी जग्गा विकास गर्न दिदा व्यवस्थित शहरीकरणमा नकारात्मक प्रभाव पर्ने उल्लेख गरेको थियो । यति मात्रै होइन, खेत बाँझो राख्न नपाइने सम्म भनेको थियो । तर, अहिले सम्म सरकारले न त कानुन ल्याएको छ, न प्लटिङ गर्ने कार्यलाई कडाई गरेको छ । सरकारले कानुन ल्याउने तर कार्यान्वयन नगर्ने गरेका कारण खेती योग्य जमिन मासिँदै गएको र कृषकहरु मजदुर हुने अवस्था आएको छ ।
विगत १० वर्षमा मोरङमा करिब १२ हजार हेक्टर खेतीयोग्य जग्गा प्लटिङ गरिएको जिल्ला कृषि विकास कार्यालय मोरङको तथ्याङ्क छ । प्रशस्त उखु उत्पादन हुने स्थानमा विगत ५ वर्ष देखि केही उत्पादन गरिएको छैन । एक हेक्टर जग्गामा करिब ४ मेट्रिक टन धान, साढे २ मेट्रिक टन गहुँ र ८ मेट्रिक टन सम्म मकै उत्पादन गर्न सकिन्छ । तर, सरकारले आफ्नै निर्णय कार्यान्वयन नगर्दा वर्षेनी हजारौं हेक्टर जमीन प्लटिङका नाममा बाँझो बस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV