२५ आश्विन २०७३, मंगलवार

उदयपुर सदरमुकाम गाईघाटमा रहेको श्रमिक पार्कलाई जिल्लाको पर्यटकीय सूचना केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले स्थानीय सरोकारवालाहरु लागि परेका छन् । जिल्लामा रहेको विभिन्न पर्यटकीय क्षेत्रको सूचना प्राप्त गर्न सकिने केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले पार्कलाई पर्यटकीय सूचना केन्द्र निर्माण गर्न लागिएको हो ।

Image result for गाईघाटको श्रमिक पार्क
करिब एक दशक अघि तत्कालीन सगरमाथा अञ्चल प्रशासक रामकुमार सुब्बा र स्थानीय समाजसेवीहरुको पहलमा त्रियुगा नगरपालिका १ स्थित भगवती मन्दिर परिसरलाई श्रमिक पार्कको रुपमा विकास गर्नका लागि विभिन्न कलाकृतिहरु निर्माण गरिएको थियो । कलाकार विक्रम श्रीले मन्दिर परिसरलाई पार्कको रुपमा व्यवस्थित गर्नका लागि पार्क परिसरमा विभिन्न किसिमका कला कृतिहरु निर्माण गरेका थिए । पार्कमा श्रमिक बुद्धको मुर्ति, शिवजीको मूर्ति, परम्परागत नेपाली समाजको जीवन शैली झल्कने मूर्ति तथा कुँदिएका चित्रहरु रहेका छन् । त्यसका अलवा पार्क परिसरमा विभिन्न बुट्यानहरु समेत रहेको छ । पार्कलाई निर्माण गर्नका लागि तत्कालीन समयमा त्रियुगा नगरपालिका लगायत स्थानीय सरोकारवाला निकायहरुबाट ठूलो परिमाणमा खर्च गरिएको थियो । पछि देशको राजनीतिक परिवर्तन संगै केहि समय निर्माण कार्य बन्द रहेको पार्क अहिले भने पुनः निर्माणको काम सुरु भएको छ ।
पार्क व्यवस्थापन तथा पुनःनिर्माणको लागि गत बर्ष मात्र त्रियुगा नगरपालिकाको वातवरणमैत्री स्थानीय शासन कार्यक्रम, शहरी विकास मन्त्रालयको सहयोगमा उचित घेराबेरा तथा मुख्य प्रवेशद्धार निर्माण गरिएको छ । पार्क परिसरमा भ्यूटावर समेत निर्माण गर्ने लक्ष्य राखिएको छ । टावर निर्माण भए गाईघाट लगायत आसपासका जिल्लाहरु समेत देख्न सकिने छ । पार्क परिसरमा भगवती मन्दिर समेत रहेकाले पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रले महत्वपूर्ण मानिन्छ । बजार र सदरमुकामकोबीच भागमा रहेको परिसरलाई यतिबेला पर्यटकीय सूचना केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
पार्कको निर्माण कार्यले पूर्णता पाए यहाँ धार्मिक आन्तरिक पर्यटकको ओईरो लाग्ने छ । उदयपुरको पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटकहरुको लागि आधार शिविरको रुपमा विकास गर्न खोजिएको पार्कमा पर्यटकीय सूचना केन्द्र स्थापना भए उदयपुर जिल्लाका पर्यटकीय क्षेत्रहरुको व्यापाक प्रचार प्रसार हुने छ । जिल्लामा धार्मिक पर्यटकीय रुपमा रहेको रौतामाई पोखरी, ताप्ली पोखरी, मैनामैनी प्राकृतिक दृष्टिकोणले बेतेनी, माझखर्क तथा ऐतिहासिक दृष्टिकोणले उदयपुरगढी तथा चौदण्डीगढी लगायतको पर्यटकीय संभावना बोकेका क्षेत्रहरु रहेका छन् ।

LIVE TV