२४ आश्विन २०७३, सोमबार

भोजपुरको टक्सार र कोटको सीमानामा पर्ने पिखुवाखोलामा पुल बनेको छ । ०७२ बैशाखदेखि सुरु भएको पुल निर्माण ९९ प्रतिशत सम्पन्न भएको छ । पुल बनेसंगै भोजपुरको दुर्गम दक्षिणी भेगका दुई दर्जन गाविसमा विकासको ढोका खोलिएको छ ।
सडक पुल नहँुदा बस र गाडीहरुलाई समस्या हुने गरेको थियो । बर्षातको बेला भेल, बाढीले खोला तर्न नसकेर सवारीका साधन वारी न पारी भएपछि यात्रुहरु अलपत्र पर्दै आएका छन् । पुल नहुदा पैदल यात्रीहरु नजिकैको झोलुगें पुलबाट यात्रा गर्ने तथा दैनिक उपभोग्य सामग्री जोखिमपुर्ण ढंगले ओसारपसार गर्दै आएका छन् ।
यातायातका साधन नियमित हुने भएपछि स्थानीय उत्पादनले बजार पाउने र स्थानीय अर्थतन्त्र मजबुत हुने छ । गाँउमा उत्पादन भएका सुन्तला, कागती जातका फलफुल, अन्नबाली, दलहन, तेलहन, नगदेबालीले राम्रो बजारभाउ पाउने भएका छन् । बजारको अभावले त्यसै खेर जाने स्थानीय खाद्यपदार्थ र कच्चापदार्थले बजार पाउने भएपछि स्थानीय तहमा अर्थोपार्जन भई आत्मनिर्भर हुनेछन् ।
पुलले गर्दा दक्षिणको ७० किलोमिटर जिल्ला सडकमा बाह्रैमास यातायातका साधन चल्न सक्नेछन् । जिविसको २ करोड ६१ लाख बजेटमा निर्माणाधीन पुलको ठेक्का देवेनसागर, कान्छाराम एण्ड मार्सेली कम्पनीले लिएको छ । ०७४ बैशाख सम्ममा निर्माण गरिसक्नुपर्ने भएपनि ७ महिनाअघि नै निर्माण सम्पन्न सकिन लागेको हो । ५० मिटर लम्बाइ र ५ मिटर ४५ सेमी चौडाइको पुलको भारवाहन क्षमता २२ टन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV