२४ आश्विन २०७३, सोमबार

 

पोखरा, २४ असोज । कास्की जिल्लाको दक्षिणभेगस्थित लेखनाथ नगरपालिका–१८ स्थित मल्लकालिन कोटभैरव मन्दिरमा आज दर्शनार्थीको भीड लागेको छ ।

download

आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिनदेखि शक्तिस्वरुपा देवीको विशेष पूजाआजा हुँदै आएको उक्त मन्दिरमा पछिल्ला दिन दिनप्रतिदिन दर्शनार्थीको सङ्ख्या बढ्दै गएको पण्डित बन्धुराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेष गरी फूलपातीदेखि मन्दिरमा दर्शनका लागि आउने भक्तजनको सङ्ख्या बढेको हो । फूलपातीका अवसरमा मन्दिर आसपासका बरपौवा, माझथर, धारापानीलगायतका स्थानबाट फूलपाती ल्याउने प्राचीन प्रचलनअनुरुप फूलपाती भित्राइएको जानकारी दिँदै उहाँले आइतबार मध्यरातमा कालरात्रिको विशेष पूजा गरिएको बताउनुभयो ।

मन्दिरमा भित्र्याइएको फूलपाती विजयादशमीका दिन सामूहिक टीका प्रसाद ग्रहणका क्रममा महाप्रसादका रुपमा लगाउने गरिन्छ ।

कालरात्रिको विशेष पूजा हेर्नका लागि आइतबार राती टाढाटाढाबाट दर्शनार्थी आएको पौडेलले जानकारी दिनुभयो । आज बिहानैदेखि बलि पूजासहित दर्शनका लागि आउने दर्शनार्थीको चाप मन्दिर परिसरमा बढेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV