२२ आश्विन २०७३, शनिबार

गिरीघाट- निधारमा रातो टीका, पहेंलो जमरा अनि परिवार र आफन्तसँग बसेर मिठो मसिनो खाना । हरेक वर्ष दसैंमा घरभरि पाहुना हुन्थे । आफन्त र छिमेकीलाई टीका र जमरा लगाउँदैमा उनलाई भ्याईनभ्याई हुन्थ्यो । घरको सबै चाँजोपाँजो मिलाएर नयाँ लुगामा सजिँदै उनी कोसेली बोकेर माइत जान्थिन् । तर, तीन वर्ष पुग्न थाल्यो, सुर्खेत हरिहरपुरकी उर्मिला कार्कीको निधारमा दसैंको रातो टीका नपरेको । पहेंलो जमरा लगाउने उनको रहर अधुरै छ । परिवारसँग बसेर दसैंमा मिठो मसिनो खान पाएकी छैनन्।

bhukampapiditनयाँ लुगा त परै जाओस् शरीर ढाक्नसमेत हम्मेहम्मे छ । दुई वर्ष पहिले भेरीमा आएको बाढीले गाउँ नै बगाएपछि हाल गिरीघाटस्थित जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य उनलाई दसैंको टीकाको दिन नजिकिँदै गर्दा बेचैनी बढेको छ । ‘घरबार हुनेले जमरा उमारेका छन्, नयाँ लुगा र मासुको पनि जोहो गरिसके’, उर्मिलाले भक्कानिँदै भनिन्, ‘यसपालिसम्म तीनपटक हुन्छ, दसैंमा टीका र जमरा लाउन नपाएको । त्रिपालमा के जमरा राख्नु ? हाम्रोमा त जमरा नै उम्रिन छोड्यो ।’

टीकाको दिन नजिकिँदै गर्दा अधिकांश नेपालीको घरमा जमरा उम्रिन थालेको छ । बजारमा दसैंका लागि नयाँनौलो किन्नेहरूको भीड लागेको छ तर सुर्खेतका अस्थायी शिवरमा बस्दै आएका बाढीपीडितलाई भने दसैंको रौनकले छोएको छैन । छाक टार्न मुश्किल भएपछि कालापहाड पसेका शिविरका अधिकांश पुरुष फर्केका छैनन् । केटाकेटीको रहर पूरा गर्न केहीले त्रिपालमुनि जमरा राखे पनि अधिकांश विस्थापित परिवारले जमरा राखेका छैनन् । गिरीघाट शिविरमा बस्दै आएका ६८ वर्षीय सहबहादुर खड्काले भने, ‘बिहान बेलुकीको छाक टार्नै मुश्किल छ, केटाकेटीले हैरान गर्न थाले । खानलाई एक दाना चामल छैन, दसैं कसरी मनाउने ? ’

बस्ने घर र खेती गर्ने जग्गा नहुँदा त्रिपालमुनि बस्नु परेको पीडा सुनाउँदै उनले दसैं मनाउन नपाएको दुखेसो पोखे । लामो समयदेखि सरकारी राहत नपाएको र संघसंस्थाले पनि सहयोग गर्न छोडेपछि दसैंका लागि टीका लगाउने चामलसमेत नभएको उनको भनाइ छ ।

‘बूढेसकालमा काम गर्न सकिँदैन, गिट्टी नकुटे चुलो बल्दैन’, ६५ वर्षीया खगिसरा घर्तीले भनिन्, ‘कमाउने कोही छैनन्, साना नातिनातिनाको मन बुझाउनै मुश्किल भयो । दसैंमा नयाँ कपडा र मासु भनेका छन्, कसरी दिलाउने ? ’ विगतका दसैं सम्झिँदै उनले गहभरि आँसु बगाइन् । उनले भनिन्, ‘तीन वर्ष हुन लाग्यो, सरकारले हामीलाई बेवास्ता ग¥यो । एकमुष्ठ राहत रकम दिएको भए सानोतिनो कटेरो बनाएर आफ्नै घरमा बस्ने थियौं ।’

आफ्नै घर नहुँदा दसैं र तिहारजस्ता चाड आए पनि आफूहरूलाई खल्लो हुने उनको भनाइ छ । यस्तै पर्सबहादुर घर्तीले भने, ‘अहिले त खानलाई एक दाना चामल छैन, गिट्टी बिक्री भयो भने टीका लगाउने चामलसम्म किन्नु पर्ला । मासु र नयाँ कपडा त सम्भावना नै छैन । हामीले त पाहुनालाई पनि दसैंमा नआउनू भनेका छौं ।’ ‘अन्नपुर्ण पाेस्ट्’मा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV