२१ आश्विन २०७३, शुक्रबार

इलाम, २१ असोज । नसर्ने रोग नियन्त्रणका लागि इलाममा विशेष कार्यक्रम सुरू गरेको छ ।

Image result for इलाम

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा इलामका १२ गाविसमा यो कार्यक्रम सुरू गरेको हो ।

पहिलो चरणमा नयाँबजार, जमुना, मावु, माइमझुवा, माइपोखरी, चुलाचुली, दानाबारी, महमाइ, लक्ष्मीपुर, जोगमाइ, सोयाङ र नामसालिङ गाविसमा यो कार्यक्रम सुरू गरिएको परिषद्का कार्यक्रम संयोजक मनिष त्रिपाठीले जानकारी दिनुभयो ।

ती गाविसमा परिषद्ले एक वर्षअघि नसर्ने रोगसम्बन्धी अनुसन्धान गर्दा यो रोगका बिरामीको सङ्ख्या उच्च रहेको तथ्य फेला पारेपछि पहिलोपटक त्यहाँ यो कार्यक्रम सुरू गरिएको हो ।

मधुमेह, क्यान्सर, उच्च रक्तचाप, मोटोपना, मृगौला जस्ता नसर्ने रोग उच्च जोखिममा रहेकाले त्यस्ता रोगीको सङ्ख्या घटाउने उद्देश्यले कार्यक्रम सुरू भएको त्रिपाठीले बताउनुभयो ।

गतवर्ष गरिएको अध्ययनमा अत्यधिक मादकपदार्थ सेवन, सागसब्जी र फलफूल सेवनको कमीका कारण मोटोपन, रगतमा हुने चिल्लो पदार्थ, मधुमेह र उच्च रक्तचाप जस्ता नसर्ने रोगको अवस्था भयानक बन्दै गएको देखिएको थियो । ‘यस्तो अवस्था आउनु भनेको ज्यादै भयानक अवस्था हो, संयोजक त्रिपाठीले भन्नुभयो, रोग नियन्त्रणका लागि सहज वातावरण बनाउन स्वास्थ्य चौकीमा औषधि व्यवस्थापन, औजार उपकरण तथा स्वास्थ्यकर्मीलाई तालिम दिएर दक्ष बनाउने कार्य अगाडी बढाएका छाँैं ।

अध्ययनमा १३ प्रतिशत मधुमेहका रोगी फेला परेका थिए । समग्र मुलुकको तुलनामा यो नौ प्रतिशतले बढी हो । यसप्रति समयमै ध्यान नदिए समस्या थप विकराल बन्दै जाने भएकाले परिषद् र जनस्वास्थ्य कार्यालयले संयुक्तरुपमा यो कार्यक्रम सुरू गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख राजकुमार पोखरेलले बताउनुभयो ।

२२ प्रतिशत मानिसमा मोटोपना, २७ प्रतिशतमा उच्च रक्तचाप, १२ प्रतिशतमा कोलस्ट्रोलको समस्या तथा त्यत्तिकै सङ्ख्यामा क्यान्सर रोगीको सङ्ख्या रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यी रोग लागेका बिरामीको उपचारलाई प्रभावकारी बनाउन जिल्लाका १२ स्थानमा योगा वा ध्यान केन्द्र तथा अकुपञ्जर खोल्ने तयारी गरेको पनि उहाँले बताउनुभयो ।

इलाममा यो कार्यक्रम प्रभावकारी भएमा देशका अन्य जिल्लामा पनि लागू गर्ने योजना रहेको परिषद्का कार्यक्रम संयोजक त्रिपाठीले बताउनुभयो । रासस

LIVE TV