
बीरगन्जमा एक बालकको हत्या भएको छ । पर्साको रामनगरी गाविस वडा नम्बर ८ भलुही निवासी विनोद पटेलका नौ वर्षका छोरा राजन पटेलको हत्या भएको हो ।
अध्ययनका लागि वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १६ राधेमाइमा अवस्थित काका बृजकिशोर पटेलसंगै बस्दै आएका राजनको शव वीरगन्ज चिनी मिल आवास क्षेत्र भन्दा पश्चिम जाने बाटोमा बिहीबार बिहान फेला परेको हो । मृतक बालकको आखाँ, पेट र हातमा धारिलो बस्तुले प्रहार गरेको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । बुधबार साँझ ६ बजे तिर आफना साथीहरुसंग दशैंको मेला हेर्न घरबाट निस्केका राजन राति अबेरसम्म पनि घर नफर्किएपछि उनका काका बृजकिशोर पटेलले बुधबार राति वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरीले रातभरी खोजी गर्दा पनि फेला नपरेका राजन बिहीबार बिहान मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक ऋषि ढुंगानाले जानकारी दिनुभयो । शव नजिकै खेलौना समेत भेटिएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।यसैबीच प्रहरीले अनुसन्धानका लागि बुधबार साँझ राजनसंग मेला हेर्न गएका दुइ जना बालकलाइ नियन्त्रणमा लिएकोछ । उनीहरुको परिचय भने खुलाएको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयो ।