१९ आश्विन २०७३, बुधबार

काठमाडौँ, १९ असोज । उद्योग मन्त्रालयमा आज बसेको बैठकले उद्योग सञ्चालनका लागि आवश्यक ऊर्जाको आपूर्ति निर्वाध रुपमा गर्न उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण र निजी क्षेत्रको सहभागितामा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

Image result for उद्योग मन्त्रालय

उद्योगमन्त्री नवीन्द्रराज जोशीको कार्यकक्षमा बसेको उक्त बैठकले औद्योगिक विकासका माध्यमबाट रोजगारीको सिर्जनालाई प्राथमिकता दिने र हालै संसद्बाट पारित औद्योगिक व्यवसाय ऐनको भावनाबमोजिम छिटोछरितो एवम् भरपर्दो सेवा प्रदान गर्न उद्योग विभागमा एकद्वार प्रणालीको व्यवस्था गरी प्रभावकारी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

बैठकबाट उद्योगलाई वातावरणमैत्री बनाउन वैकल्पिक ऊर्जाको उत्पादन र प्रयोग गर्न उद्यमीहरुलाई उत्प्रेरित गर्ने, श्रम ऐन बनाउँदा उद्योग फस्टाउने र मजदुरहरुको हितलाई समेत संरक्षण गर्ने गरी अगाडि बढाउने निर्णयसमेत भएको छ ।

औद्योगिक क्षेत्र वा उद्योगसम्म सहज पहुँचका लागि सडक तथा पुलजस्ता पूर्वाधारलाई निर्माण गर्ने कामलाई प्राथमिकता दिने निर्णय गरिएको छ ।

बैठकमा ऊर्जामन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तया यातायात व्यवस्था मन्त्री रमेश लेखक, श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङ र जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीको उपस्थिति थियो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV