१८ आश्विन २०७३, मंगलवार

माननिय गगन थापा ज्यू,
नमस्कार, जयनेपाल …!

म, गोरखा निवासी युवराज बस्ताकोटी हुँ । मेरो बा स्वर्गिय खड्ग प्रसाद बस्ताकोटीले भारतीय भूमिमा रगत पसिना बगाएर मलाई हुर्काउनु भएको हो । मेरो आमा गाउँमा भैंसी बाख्रा पालेर बस्दै हुनुहन्छ । म भने २१ वर्षदेखि काठमाडौंका गल्लीहरुमा भौतारिई रहेको छु । यही समयमा सयौं पटक तपाईसंग भेटेको छु, चिया खाएको छु, तर कयौं मानिसहरु सधैं देखिन्छन् तर के हामी हेक्का राख्छौं र ?
विश्व विद्यालय अध्ययनका शिलशिलामा ज्यादै दुःख गरेको अनुभव छ मसंग, अंग्रेजी साहित्य र अंग्रेजी भाषा विज्ञानको स्नातकोत्तर हुँ र फेरी ग्रामीण विकासको स्नातोकत्तर पनि हुँ म । अरु लाखौं युवाहरु जस्तै म पनि विदेश जानु पथ्र्यो भन्ने मेरो ठाउँ गाउँका शुभचिन्तरहरुको शुभेच्छालाई निराश पार्दै देश भित्रै बसी रहेको छु । विविध शैक्षिक गोष्ठिमा भाग लिन युरोप, भारत र नेपाल चाहारेकै छु । तथापी आफू अन्य कयौं व्यक्तिहरु जस्तो सम्पन्न हुन सकेको छैन । मेरो परिवारको भित्रि चाहना “काठमाडौंमा एउटा घर, एउटा गाडि र राम्रो आय स्रोतको बाटो होस भन्ने छ ”भन्ने मेरो अनुमान जिवितै छ । दुई वा तीन नम्बरी काममा लाग्न जानिएको छैन । ३०–४० हजारको मासिक आम्दानि बुढी आमा, भाइ बहीनी, परिवार छोराछोरी तपाईं कल्पना पनि गर्न सक्नु हुन्न कसरी चल्छ होला हाम्रा महिनाहरु !

 

हो, तपाईं गणतनत्रवादी युवाहरुको धुलिखेल बैठक देखि प्रत्येक भेला र सभामा र सहभागी थिएँ । तपाईलाई याद नहोला म स्कूल कलेजमा फस्ट बेन्चर हुँ, मेरो समाजका सिदा सादा मानिसहरुको दृष्टिमा असल समाजसेवी हुँ तर राजनीतिको नेपाली फोहोरी खेलमा लास्ट बेन्चर बनेको छु । कहीँ आफैं घृणा लागेर पछाडि बस्छु त कतै फोहोरी किराहरु देखेर दिक्क लाग्छ । २०४६ सालको आन्दोलनमा जुलुस भन्ने बुझदैनथें, तर पछि पछि हिड्थें गाउँमा । २०४९ पछिका प्रत्येक चुनावमा निर्णायक सहयोग गरेको छु । गोरखाका कति गाउँहरुमा तपाईको पार्टीको प्रतिनिधि भएर कार्यक्रमहरुमा बोलि दिएको थिएँ, जतिबेला आम काँङ्रेसहरु भाग्नु पथ्र्यो । म विद्यार्थी थिएँ रिक्स मोलेर भाषण गर्थें ।

 

मैले सुनेको छु, मेरो हजुरबा हिमलालले किसुनजी लाई बिरामी हुँदा डोकोमा बोकेर चुनाव प्रचारमा हिँडाउनु भयो २०१५ सालमा । त्यति मात्र होइन गाउँले जडिबुटी औषधि बनाएर पनि खुवाउनु भयो । उहाँ अशिक्षत र दुखि भएर पनि काँङ्रेस हुनु भयो । मेरो आफ्नो मामा (जो डा.बाबुराम भट्टराईकै गाउँले हुनुहुन्थ्यो लाई माओवादीले घाँटी रेटेर मारे २०६१ सालमा) । पुष्ठ भूमिकै कुरा गरेर ब्याज पनि खोजेको छैन कहिल्यै कुनै कोइराला, सिंह, निधि वा अरुले जस्तो ! म काममा विश्वास गर्छु । अतः वी. पी. कोइरालका विचारहरुलाई अन्तराष्ट्रियकरण गर्ने जसको शुरुवात आफ्नै देशमा वी. पी. राज्य स्थापना गरेर मात्र सम्भव छ भन्ने यथार्थ मैले २०४८ तिर नै बुझेको हुँ । किसुनजी र गणेशमानजी को समेत अपमान गर्ने यो पार्टी भगवान पशुपतिनाथले जोगाई दिएकै छन् । हाम्रो के कुरा भयो र होइन ?

 

अँ, मेरो चिन्ता समाज र देश छदैं छ तर नयाँ पुस्ताका कयौं व्यक्तिहरुको भन्दा तपाईको राजनीतिक उचाईको निरन्तरताको लागि छ । हो, म तपाईको त्यो गुटमा पनि अहिले छैन न त पहिले नै थिएं । विरोधि त हुदै होइन । पौडेल काँग्रेस, सिटौला काँग्रेस, खड्का काँग्रेस, देउवा काँग्रेस म कतै छैन किन भने हालसम्म म नेपाली काँग्रेसको कृयाशिल सदस्य मात्र छु । हो, म वी.पी., सुवर्ण, शैलजा, गणेशमान, किसुनजी काँग्रेस हुँ । थाहा छैन, भोलिको दिनमा कुन ताउलोमा ताउलो नै हुन्छ, खाँटी तामाको । वी.पी. चिन्तन प्रतिष्ठानको केन्द्रिय सचिव भएर काम गर्दै गर्दा मलाई त्यही अनुभव भएको छ ।
माननिय ज्यू,
देश जोगाउने जिममेवारीमा हुनुहुन्छ । माटो मात्र जोगाएर हुदैन धर्म, संस्कृति, परम्परा, रहन सहन र संस्कार थेग्न सक्नु पर्छ । कुसंस्कार र कुरीतिहरु हटाउनु पर्छ तपाईले । आधुनिकताका नाममा नाङगै हिड्न दिईनु हुन्न, अराजकता पनि होइन, अन्यविश्वास र कुरीतिमा अल्झिएको पुरानो समाज पनि होइन हामीले बनाउने ।

 

विज्ञान र प्रविधिमा परिवर्तन परम्परा र संस्कृतिको रक्षाले मात्र सामाजिक सुख प्ररित हुने हो भन्ने, राष्ट्रिय दर्शनको संरक्षण भावि पुस्तालाई अंशको रुपमा राखिदिनु पर्छ भन्ने बोध अवश्य छ यहाँलाई ।
मान्छेहरु भन्ने गर्छन गगन कता कताको मान्छे हो । मान्छेहरु गलत हउन । नेपाली भावि पुस्ताको आशाहरु माथि नाङगो बलात्कार नहोस भन्ने इच्छा अरुको जस्तै मेरो पनि छ ।
मानिसहरु भन्ने गर्छन गगन हिसाब मिलाउन सिपालु छ, अरु भन्दा जेठो छ, कान्छो छैन । मलाई लाग्छ नेपाली समाज अझै आफनै विवेकले चल्न सक्दैन, एक दुई खराब व्यक्तिले हल्ला लगाए पछि त्यतै लाग्छ । यदि मेरो सुनाई गलत भएर तपाईको निष्ठा सत्य भई दिए, पुग्यो मलाई ।
गगनजी, तपाईले बुझनु भएकै छ, क्षमता र योग्यता भएका मानिसहरु अमेरिका, क्यानडा, अस्टे«लिया र युरोपतिर लागेका छन् । केही क्षमता भएका मेहनती मानिसहरु खाडि मुलुकहरुमा सस्तोमा पसिना बगाउन बाध्य छन् । कतिपय त अकालमा ज्यान फाल्दै छन् । त्यो भन्दा ठूलो पीडा नेपालमा रहेका उनीहरुका परिवार कोही अल्छि भएका छन् । कोही पिल्सिएर बसेका छन् । विरक्तिएका छन् त कयौंले गलत कार्य गरिदिंदा कति मानिसका घरवार विग्रिएका छन् । वृद्धवृद्धा माथि मायाँ, सम्मान र हेरचाह छैन । गाउँघरमा लास उठाउने मानिस छैनन् । शहर भुँइचालोले गर्दा बेथिति बनेको छ । कृषि कार्य गर्न छाडि दिंदा रसायन मिसिएका विदेशी खाद्य बस्तुले नेपालीहरु रोगी बनिरहेका छन् । बेरोजगारीको पीडा असहय छ ।
बन्द, हड्ताल, हत्या, हिंसा, लुटपाट बढेको छ । बजारमा जुनसुकै क्षेत्रमा सिण्डिकेटले गाँजेको छ । दिनहुँ विविध यातायत दुर्घटना हुँदा जीऊ धनको क्षति बढेको बढै छ । तपाईं राज्य सञ्चालनको केन्द्रमा हुनुहुन्छ । अब कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ । मलई चिन्ता छ, अबको सात महिनामा आफ्नो भावि क्यारिएर जोगाउने र पिल्सिएका नागरिकहरुलाई राहत दिने, प्रणाली बसाउने कार्य्रमा कसरी लाग्नु होला त । एक हातले तली बज्दैन । तपाई एकजनाले चाहेर पनि हुने होइन । तपाई सर्वोच्च कार्यकारीमा पुग्नु भएको भए भन्न सकिन्थ्यो । अब ः राष्ट्रले खोजेको जनताले रोजेका बन्न तपाई अगाडि बढ्नुहोला भन्ने मेरो शुभ–कामना त छदैछ । सडकको नागरिकको हैसियतले के गर्नु सक्छु होला र ? छलफल गर्न सक्छु त्यो त गर्ने नै छ।
एउटा कुरा, हाम्रो समाजको वर्तमान असजिलो अवस्थामा छ तर भविष्य अकल्पनिय दुर्घटनाग्रस्त छ । त्यसलाई रोक्न सकिन्छ तर दुर्घटना रोक्न सही प्राविधिक आवश्यक पर्दछ, त्यो हामीसंग देखिदैन । राष्ट्रको दुर्घटना रोक्ने प्राविधिक भनेका नेतृत्व गर्न खोज्ने क्षमता नै हो । आफ्नो व्यक्तिगत सफलताका लागि भाले गुट बनाएर यान्त्रिक बन्दैमा समाज बदलिदैन । व्यक्तिगत पद र स्थान (Post and posture)  सुनिश्चित गर्न तपाई वा अन्य गुटका प्रमुखहरु संग सौदा बाजी गरेर राजनीतिक पेशामा सफलता चाहनेले समाज चाहदैन, उसलाई समाजले चिन्ने वित्तिकै छाडि दिन्छ अतः त्यतातिर यहाँको ध्यान पुगेको छैन भन्ने कच्चा कुरा म गर्न चाहन्न ।
अदम्य सहास र सुझबुझका साथ यहाँ अगाडि बढिरहनु भएको छ भन्ने आशा गरेको छु ।
तपाईको राजनीतिक मिसन के हो ! त्यसैमा समाजको समृद्धिको नक्सा छ होला ? विना लक्ष्य राजनीतिको काँडा बिछयाइएको यो राजमार्गमा हिड्नु भएको अवश्य होइन होला । डा. गोविन्द के.सी.का मागहरु पुरा गराउन तपाई महाराजगंज जाँदा म पनि त्यतै थिएँ । तपाईलाई फिस्स दाँत देखाएर हाँसेको पनि थिएँ । तपाई समुहमा हुनुहुन्थ्यो म एउटा भाइ संग थिएँ तर देख्नु भएन तपाई फर्कि हाल्नु भयो । यद्दपी डा. के.सी. का माग पुरा होलान् वा उहाँका यि माग नाजायज छन् बताउनु होला । मेरो त गुनासो रहने छैन तर दुर्भाग्य दुनियाँले बिर्सदैन । “नेपालीहरु काम खोज्न विदेश जाने होइन विदेशीलाई नेपाल ल्याउने” भनेर यहाँले भाषण गर्दा म पनि रत्नपार्क मै थिएँ । आशा छ, राष्ट्र निर्माणको वृहत योजना बुन्नु भएकै होला । मेरो देश बन्न जादैछ होला । कतै मैले मेरो सन्ततीको भविष्यको लागि भए पनि कुनै राजदुतावासमा पासपोर्ट धरौटी राख्न जान नपरोस् ।
थापा ज्यू,
शिक्षित मानिसहरु विदेश गए भनेर हामी चिन्ता गर्छौं । नगएर के गर्छन त सरकार परिवर्तन हुन्छ, योजना आयोगमा विदेशी सर्टिफिकेट वाला विक्छन्, संस्थानहरुमा सुटकेसवाला विक्छन्, राष्ट्र बैंक, कम्पनि, राजदुतका रुपमा पूर्व कर्मचारीहरु मात्र विक्छन् । अनि नयाँ शिक्षित नेपाली विश्वविद्यालयका प्रमाणपत्रहरु अरबमा नगए के गर्छन् ? एक दिन त्यस्तो दिन आउँछ दशगजा को पल्लो पट्टी साथै तिब्बत शहरमा बसेर मानिसहरु हाँस्ने छन् र भन्ने छन्, “पागलहरुको देश जहाँ सक्षम र योग्यहरुलाई धपाएर नाक, लिङग, क्षेत्र, जातका नाइके हुरु नाङगो नाच नाज्दै छन्” । यहाँका शिक्षित नागरिकहरु विदेशका गल्लीहरुमा पसिना बगाई रहेका हुनेछन् ।
यस्तो दिनको कल्पना मात्र होइन अब हामी यथार्थको नजिक छौं । तपाईलाई थाहा छैन भनेर यो पत्र लेख्दै छैन मैले, तपाईको वेफूर्सदी समयले गर्दा मैले स्मरण गराएको मात्र छु ।

सकरात्मकता यहाँको सद्गुण हो भन्ने सुनेको छु । मलाई लाग्छ काजी भएर भन्दा पनि नागरिक भएर सोच्नु हुने छ । यहाँको भाषण, लेखाई र बोलाईहरु ताजा छन्, गराईको समय आएको छ । शुभ समाचार पाइनै रहने छु । हस्त । जय नेपाल ।

तपाईको शुभचिन्तक
युवराज बस्ताकोटी

प्रतिक्रिया दिनुहोस्
LIVE TV