१३ आश्विन २०७३, बिहीबार

जलवायु परिवर्तनको कारण पछिल्लो समय हिमाली तालहरु सुक्ने क्रम शुरु भएको छ । हिमाली जिल्ला मुस्ताङमा रहेको ढुम्बाताल पनि सुक्दै जान थालेपछि यस क्षेत्रका पर्यटन ब्यवसायीहरु चिन्तित हुन थालेका छन ।

Image result for ढुम्बाताल सुक्दै

गत २०७२ सालमा गएको भुकम्पको असर ताल तथा पानीको स्रोतहरुमा पर्न थालेको छ । भूकम्पपछि मुस्ताङको जोमसोम गाविसको ९ स्थित ढुम्बा तालमा पनि पानीको सतह घट्दै गएको छ । करिब चार सय मिटर लम्बाई र एक सय मिटर चौडाई भएको तालमा पानीको मात्रा झण्डै आधाले घटेको छ । करिब दश मिटर गहिरो भएको अनुमान गरिएको तालमा संकलन हुने पानीको मुहान सुकेपछि सतह घटेको हो । बर्षौदेखि समान मात्रामा पानीको सतह रहदै आएको तालमा पछिल्लो एक वर्षयता अस्वभाविक रुपमा पानी घटेपछि स्थानीयबासीले अनौठो र चिन्ता मानेका छन् ।

२०७२ बैशाख १२ गते गएको भुकम्पपछि पानीको मुहान सुकेर त्यसको असर तालमा परेको स्थानीय बासिन्दाहरु बताउँछन् । ढुम्बा ताल संरक्षण तथा ब्यवस्थापन समितिले नजिकैको खोल्साबाट पाईपमा पानी ल्याएर तालको सौन्दर्य कायम राख्ने प्रयास गरिरहेका छन् । जोमसोम बजार नजिकै रहेको ढुम्बाताल पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तब्य स्थलको रुपमा विकास हुदै गएको थियो । केही चलचित्रको छायांकन पनि भएकाले तालको प्रचारप्रसारसंगै पर्यटक आगमन बढेको थियो । तर अहिले पानीको सतह घटेर तालको सौन्दर्य ह्रास आएपछि पर्यटन ब्यवसाय प्रभावित हुने देखिएको स्थानीयहरुले बताए ।

पानीका सतह घटेपछि तालमा आश्रित माछा, हाँस लगायत जलचर लगायत तालमा पानी खान आउने वन्यजन्तुहरु पनि असर परेको छ । निलगिरी हिमालको छायाँ देखिने निलो रंगको तालको छेउछाउ अहिले बगरमा परिणत भएको छ । वातावरण संरक्षणको क्षेत्रमा कार्यरत व्यक्तिहरुले बढ्दो तापक्रम, जलवायु परिवर्तन, भुकम्पका कारण तालमा पानीको सतह घटेको अनुमान गरेपनि त्यसबारेमा यकीन अध्ययन अनुसन्धान हुन सकेको छैन् ।

ढुम्बाताल मात्र होइन देशका अन्य ठाउँमा रहेका तालतलैयाहरु पनि बिस्तार सुक्दै जान थालेका छन् । त्यसैले त्यसलाई संरक्षणका लागि पानीका मुहानको संरक्षण, वृक्षारोपण र वातावरण असर न्युनीकरणका लागि पहल गर्न अत्यावश्यक भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV