११ आश्विन २०७३, मंगलवार

शिक्षाका लागि खाद्य कार्यक्रम विकट हिमाली जिल्ला बझाङमा लागू भएपछि जिल्लाका विकट क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ ।

जिल्लाका २३७ प्रावि, ५८ निमावि र सातवटा बालकक्षा गरी जम्मा ३०२ विद्यालयमा यो कार्यक्रम लागू भएको छ । शिक्षाका लागि खाद्य कार्यक्रमबाट ३५ हजार २८६ लाभान्वित भएका शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ प्रमुख पङ्कज सुवेदीले जानकारी दिनुभएको छ ।

दातृ संस्था विश्व खाद्य कार्यक्रम र नेपाल सरकार शिक्षा मन्त्रालयको वस्तुगत र आर्थिक सहयोगमा यो कार्यक्रम जिल्लामा विगत २०५७ सालदेखि निरन्तर सञ्चालनमा आइरहेको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका गरिब परिवारका विद्यार्थी पहिले विद्यालयमा दिवा खाजा नहँुदा विद्यालय नजाने गरेका थिए ।

विद्यालय जबर्जस्ती गएपनि पानी खाने निहूँमा विद्यालयबाट भागेर आउने गरेका थिए, अहिले दिवा खाजा आफ्नो विद्यालयमा लागू भएपछि आफ्ना बालबालिकाको शैक्षिकस्तरमा वृद्धि भएको र निरन्तर विद्यालय पढ्न जान इच्छुक हुने गरेका सुनकुडा गाविसका स्थानीयवासी कल्पनादेवी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो “मेरा दुई छोरा र तीन छोरी छन् नजिकैको महादेव प्राविमा पढ्न जान्छन् ।”

एक विद्यार्थी बराबर एक दिनमा पिठो ९० ग्राम, तेल १० ग्राम, चिनी १० ग्राम गरी दिनको ११० ग्राम पौस्टिक आहार दिने गरेको महादेव प्राविका प्रधानाध्यापक हरिजित बोहराले बताउनुभयो ।

आफ्नो विद्यालयमा पहिले विद्यार्थीको सङ्ख्या एकदमै कम भएको, पानी खाने बिदामै भाग्ने प्रचलन र विद्यालय नियमित उपस्थित नहुने र अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले दैनिक आफ्ना बालबालिकालाई खाजा खुवाउन पनि समस्या हुन्थ्यो, तर अहिले राज्यले शिक्षाका लागि खाद्य कार्यक्रम लागू गरेपछि बालबालिकालाई खाजा खुवाउन सहज भएको र आफ्नो विद्यालयमा विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि भई पढाइमा रुचि राख्ने गरेको उहाँले बताउनुभयो ।

भवन, विद्यार्थीको दिवा खाजा बनाउने भान्छा घर, शौचालय, खानेपानीको साह्रै अभावमा हामीलाई पठनपाठनमा गाह्रो भइरहेको थियो तर अहिले नेपाल सरकारले दातृ निकायबाट शिक्षा क्षेत्रको विकासमा विभिन्न कार्यक्रम ल्याएर जिल्लाको विकट गाविसमा लागू भई आफ्ना विद्यार्थीको शैक्षिक जीवनस्तरमा सुधारसँगै विद्यालयको भौतिक अवस्था पहिलेको भन्दा अहिले एकदमै राम्रो परिवर्तन आएको विद्यालय व्यवस्थापन समितिका महिला सदस्य जुनादेवी रावलले बताउनुभएको छ ।

यसैगरी, जिल्लाको विकट गाविस गडराय–९ मा रहेको गोर्खाली निमाविमा पनि दिवा खाजा सञ्चालन भएपछि विद्यार्थीको शैक्षिकस्तरमा सुधार आउनुका साथै विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको प्रधानाध्यापक गोरखबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो “यो हाम्रो विद्यालय जिल्लाकै सबैभन्दा विकट गाविसमा रहेको विद्यालय हो तर अहिले विद्यालयमा दिवा खाजा लागू भएसँगै विद्यार्थीको सङ्ख्यामा वृद्धि र शैक्षिक गुणस्तरमा सुधार आएको छ ।”

शिक्षाका लागि खाद्य कार्यक्रमको मुख्य कार्यालय सदरमुकाम चैनपुरमै भएकाले लिटो (पौस्टिक आहारा) ढुवानीमा समस्या देखिएकोमा अब यो क्षेत्रका विद्यालयको लागि स्रोत केन्द्र कालुखेतीमा दिवा खाजा वितरण केन्द्र स्थापना भई यहाँका स्थानीयलाई सहज भएको गोर्खाली निमाविका खाजा व्यवस्थापन समितिका अध्यक्ष टीकाराम खड्काले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV