७ आश्विन २०७३, शुक्रबार

कर्णालीका जुम्ला र कालिकोट स्याउ उत्पादनका लागि उर्भर क्षेत्र हो । कृषिमा धेरै सम्भावना बोकेको जुम्लामा सीप र ज्ञानलाइ परिचालन गर्न सके स्थानीयको जीवनमा परिवर्तन आउँने प्रशस्त उदाहरण छन् । परम्परागत खाद्य संकट व्यहोर्दै आएका स्थानीय सुर्खेत जुम्ला सडक खुलेपछि स्याउ खेतीमा आकर्षित भएका छन् ।

a

जुम्ला पटमारा ९ उर्थुकी बली विष्ट अन्न उत्पादन हुने खेतमा स्याउ लगाएपछि अहिले बर्षमा २ लाख भन्दा बढी आम्दानी गर्नुहुन्छ । यही आम्दानीबाट उहाँको घर परिवारको खर्च धानेको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको अनुदान सहयोगमा उहाँले परम्परागत खेती छोडी स्याउ उत्पादनलाई व्यवसायीक बनाउनु भएको हो । आयोजनाले कालिका कृषि वहुउद्देश्यिय सहकारी संस्था मार्फत प्राविधिक र आर्थिक सहयोग गरेपछि स्याउ उत्पादनले आत्मनिर्भर गराएको बली विष्ट बताउनुहुन्छ ।

बली त एक उद्दाहरण मात्र हुनुहुन्छ । पटमाराका प्रत्येक घरका महिला स्याउ खेतीमा संलग्न छन् । केहि बर्ष अघिसम्म फुर्सदिला बनेका यहाँका महिलाहरु अहिले स्याउ बगैचा रेखदेखमा सक्रिय छन् । आयोजनाले स्याउ खेतीलाई व्यावसायीक बनाउन समुहका सदस्यलाई साक्षरता कक्षा, बगैचा काटछाट ,स्याउ संकलन सामग्री लगायत स्याउ भण्डारणका लागि सेलार स्टोरमा सहयोग गरेपछि किसानको आम्दानीमा वृद्धि भएको छ । यसले गर्दा स्याउ खेतीमा स्थानीय कृषकहरुको आकर्षण बढेको सहकारीकी अध्यक्ष चैती विष्ट बताउनु हुन्छ । बाइट चैती विष्ट,अध्यक्ष,कालिका कृषि वहुउद्देश्यीय सहकारी संस्था,पटमारा ९ उर्थु जुम्ला ।

जुम्लाको आर्गानिक स्याउले राम्रो मूल्य पाएपछि कृषकको अनुहारमा चमक आएको छ । यतिबेला स्याउको सिजन भएकोले व्यापारीहरु घर–घरमै आएर स्याउ किन्न थालेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष आम्दानी बढी हुने किसानहरुको अपेक्षा छ ।

कृषिको विकासका लागि सरकारी नीजि साझेदारीमा सञ्चालित उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले कालिकोट र जुम्लाका ६९ समुह तथा सहकारी मार्फत करिव १९ सय घरपरिवारलाई समेटेर स्याउ मूल्य श्रृंखला मार्फत स्याउ उत्पादक कृषकलाई सहयोग गरिरहेको आयोजना प्रमुख राजेन्द्र भारीले बताउँनुभयो ।

निर्वाहामुखि कोदो, मकै, जस्ता परम्परागत खेतीमा सीमित रहेका यहाँका कृषकहरु आयोजनाको सहयोगपछि व्यवसायिक स्याउ उत्पादनमा लागेका हुन् । यसबाट उनीहरुको जीवनशैलीमा समेत सकरात्मक परिवर्तन आएको छ । अझ आधुनिक शीत भण्डार, ग्रेडिङ मेशीन, सडकको स्त्तरोन्नती,आईएसओ मार्क, कार्टुन प्याकिङ्ग तथा लेवलिङ्गमा सरोकारवाला निकायले समयमा नै ध्यान दिन सके आयआर्जनमा थप बृद्धि हुने कृषकहरुको आशा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV