६ आश्विन २०७३, बिहीबार

लामो समयदेखि अस्तव्यस्त रहँदै आएको उदयपुर सदरमुकाम गाईघाटको बजारलाई व्यवस्थित गर्न स्थानीय प्रशासन लागिपरेको छ । खासगरी त्रियुगा नगरपालिकाले निर्माण गरेको सडक पेटीमा जथाभावी निर्माण सामाग्री तथा व्यवसायीहरुले व्यापारिक सामाग्री राख्दा पैदल यात्रुलाई सहजरुपमा यात्रा गर्नका लागि असहज बन्दै गएको थियो । सदरमुकाम गाईघाटमा प्रत्येक बुधबार लाग्दै आएको साप्ताहिक हटियाको दिन पारेर व्यवस्थित बजार सुरु गर्नका लागि नगरपालिकाले पहल सुरु गरेको हो ।

udaypur map
नगरपालिकाले एक दशक अघि निर्माण गरेको सडक पेटीमा स्थानीय व्यापारीहरुले मनोमानी ढंगले व्यापारिक सामाग्री, निर्माण सामाग्री थुपार्ने र अव्यविस्थत पार्किङका कारण गाईघाट बजार निकै अस्तव्यस्त हुदै आएको थियो । तर ढिलै भए पनि त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ, स्थानीय प्रहरी र प्रशासनले बजारलाई व्यवस्थित बनाउँन जागरुकता देखाएको छ । नगरपालिकाले त्रियुगा नगरपालिका ३ स्थित हवाई फिल्डमा निर्माण गरेको कृषि बजार बजारमा हाल व्यक्तिको जग्गा लाग्दै आएको तरकारी बजारलाई स्थानान्तरण गर्ने तयारी गरेको छ । बर्षौदेखि व्यक्तिको जग्गामा र सडकमा अव्यवस्थित रुपमा बजार लाग्दै आएको थियो । तरकारी व्यापारीहरुले सडकमानै व्यवसाय गर्दै आउदा सवारी आवगमन समस्या सृजना हुदै आएको थियो । सडकमा हुने व्यापारलाई समेत व्यवस्थित गरेर कृषि बजारमा सार्नका लागि नगरपालिका, उद्योग वाणिज्य संघ र स्थानीय प्रशासनको सक्रियतामा बजार सार्ने काम गरिएको त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्माले जानकारी दिनुभयो ।

बजार सार्न र अव्यवस्थित रुपमा रहेको सडक पेटीलाई व्यवस्थित गर्नका लागि सर्वपक्षीय सरोकारवालाहरुले गाईघाटमा काम सुरु गरेका हुन् । कृषि बजार संचालनका लागि त्रियुगा नगरपालिकाले झण्डै एक करोड बढिको लागतमा १५ वटा सेड तथा दुई कृषि संकलन केन्द्र समेत निर्माण गरिसकेको छ । नगरपालिकाले भौतिक पूर्वाधार निर्माण गरेकाले पनि अव्यवस्थित रुपमा रहेको बजारलाई व्यवस्थित गर्न लागिपरेको त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत खड्गबहादुर कार्कीले बताउँनुभयो ।
वर्षौदेखिको समस्याका रुपमा रहेको बजार ब्यवस्थापनमा सरोकारवाला निकायले सक्रियता देखाएपछि यसको छिट्टै बजारको सकरात्मक मुहार फेरिनेमा स्थानीय ढुक्क भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV