५ आश्विन २०७३, बुधबार

पुर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानमाथि नै धेरै राजनीति भएका कारण पूर्ण कार्यान्वयनले गति लिन नसकेको टिप्पणी गर्नुभएको छ । उहाँले संविधानका विभिन्न विषयमा दलहरुले राजनीति गर्ने गरेकोले संविधान कार्यान्वयनमा संकट पैदा भएको निष्कर्ष निकाल्नु भएको छ ।

5772_kalyan-shrestha
नेपाल कानुन समाजले आयोजना गरेको संविधान जारी भएको एक वर्षका प्रतिबिम्ब विषयको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानले राजनीतिलाई सुसंस्कृत तुल्याउनुपर्ने बताउनुभयो । उहाँले कानुन मान्ने संस्कृतिको विकास गर्न आवश्यक रहेकोले संविधानमा कसैले राजनीति गर्न नहुने बताउनुभयो ।
त्यसैगरी संविधानसभाका पुर्व अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दल र सिङ्गो समाजबीच संविधान कार्यान्वयनका लागि छलफल र विचार–विमर्श हुन आवश्यक रहेको बताउनुभयो । उहाँले एक वर्षमा संविधानका विषयमा उठेका प्रश्न सबैका लागि चुनौती भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले राज्यको आवश्यकता, राष्ट्रहित र जनताको आवाज सम्बोधन गर्न संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्दै लैजानुपर्ने आवश्यकता औल्याउनु भयो ।
यता कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले संविधानभित्रै रहेर असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न सकिने र सरकारले आगामी २०७४ साल माघभित्र सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनका लागि आवश्यक कानुन तयार गर्ने कार्यलाई केन्द्रित गरेर काम गरिरहेको जानकारी दिनुभयो ।
र्यक्रममा अधिकांश वक्ताहरुले संविधानका विशेषताबारे जनतामा सन्देश प्रवाह गर्ने कार्यमा एकीकृत हुन आवश्यक रहेको बताएका थिए । ०००

प्रतिक्रिया दिनुहोस्
LIVE TV