२ आश्विन २०७३, आईतवार

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले संविधान संसोधनको माग संविधानलाई क्षतविक्षत बनाउनका लागि भएको जिकिर गर्नुभएको छ । उहाँले यही नियतले अघि बढेको संविधान संशोधन कुनै पनि हालतमा सफल हुन नदिने बताउनु भएको छ ।

Image result for वामदेव गौतम
नेकपा एमाले मोरङले आइतवार विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष गौतमले विभिन्न क्षेत्रबाट संविधान असफल बनाउने षडयन्त्र भईरहेकोले सचेत हुन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले संविधान जारी गर्ने प्रमुख दलहरु नै संविधान संरक्षणमा लाग्नुपर्ने बेलामा एक वर्ष भित्रै संविधान संशोधन गरिरहनु नपर्ने जिकिर गर्नुभयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका गौतमले संविधान जड वस्तु नभएकाले आवश्यकता र औचित्यका आधारमा जतिबेला पनि संसोधन गर्न सकिने स्पष्ट पार्दै मुलुक विखण्डन गर्ने र मधेस टुक्र्याउन गरी संशोधन हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।
उपाध्यक्ष गौतमले पार्टी भित्र गुट उपगुट मौलाउदा पार्टी नै सिद्धिने अवस्था आएकाले १० औं महाधिवेशनमा निर्वाचन प्रणाली नै परिवर्तन गर्न लागेको जानकारी दिनुभयो । उहाँले नेकपा एमालेलाई विकासे पार्टी बनाउन लागिपरेको बताउदै कृषि उत्पादनमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV