२ आश्विन २०७३, आईतवार

prachandaप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटमा दिल खोलेर कुराकानी भएको र अब नेपाल–भारतबीच असमझदारी अन्त्य भएको बताएका छन्।प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको तेस्रो दिन होटेल ताज प्यालेसमा आयोजित संक्षिप्त पत्रकार सम्मेलन र इन्डिया फाउन्डेसनको बेग्लै स्वागत कार्यक्रममा दुई देशको सम्बन्धमा अब नयाँ आयाम थपिएको स्पष्ट पारेको खबर आजको नयाँ पत्रिकामा दिल्लीबाट पर्शुराम काफ्लेले लेखेका छन्।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानका विषयमा भारतसँग कुनै असमझदारी बाँकी नरहेको पनि बताएका छन् । राजकीय भ्रमण सकेर प्रचण्ड आइतबार स्वदेश फर्किंदै छन् । ‘जसरी म चुनौती र अवसरको बीचमा प्रधानमन्त्री भएको थिएँ र चुनौतीहरूलाई चिरेर नयाँ राजनीतिक अवसरका लागि अग्रसर थिएँ, भारत भ्रमण पनि मेरा लागि अवसर र चुनौती थियो,’ भारतीय जनता पार्टीनिकट फाउन्डेसनको रात्रिभोजमा प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्री मोदीजीसँग मेरो दिल खोलेर कुराकानी भयो। दिलैदेखिको कुरा भयो। कुराकानी भइसकेपछि मलाई लाग्यो कि नेपाल–भारत सम्बन्धको नयाँ आयाम थपियो । चुनौती सामना गर्न म सफल भएँ ।’

प्रधानमन्त्री प्रचण्डले आफू आशा र अठोट लिएर भारत आएको उल्लेख गर्दै भ्रमण सफल भएको पनि स्पष्ट पारे । ‘विगतका असमझदारीहरूलाई अन्त्य गरेर अब सम्बन्ध कहिल्यै डिरेल नहुने गरी अघि बढेका छौँ,’ प्रचण्डले भने, ‘अब हामी विगतको तीतो अनुभवतिर जानेछैनौँ ।’

LIVE TV