२९ भाद्र २०७३, बुधबार

जिल्ला विकास समिति धनुषा र संसदीय क्षेत्र विकास कोषको रकम दुरुपयोग भएको सम्बन्धि समाचार लेखेको भन्दै सञ्चारकर्मी राजकमल सिंहलाई अपहरण गर्ने प्रयास भएको छ । सिंहलाई अपहरण गर्न खोजेको एक समूहले अपहरण गर्न खोज्दा प्रहरीले पाँच अपहरणकारीलाई नियन्त्रणमा लिएको छ ।
न्यूज २४ टिभीका धनुषा स्थित टिभी जर्नलिष्ट राजकमल सिंहलाई धनुषा –१ का कांग्रेस सभापति नविन गोहिवार लगायतको समूहले बुधबार बिहान जनकपुरको भानु चोकबाट अपहरण गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो । आफ्नो राजनैतिक चरित्र वदनाम गराउने गरी समाचार लेखेको भन्दै गोहिवार लगायत उनीसँगै गाडीमा आएका सात–आठ जनाको समूहले सिंहलाई अपहरण गर्न खोज्दा पत्रकार सिंहले प्रतिकार गर्दा उनीमाथि ढुंगा, मुक्काले कुटपिट गरेका छन् । टाउकोको पछाडि भागमा गम्भीर चोट लागेका सिंहलाई जनकपुर अञ्चल अस्पतालमा उपचार गराइएको थियो । समयमा घटनास्थलमा स्थानीय पुग्न नसके आफूलाई अपहरण गरी बेपत्ता बनाउने शैलीमा आक्रमणकारी प्रस्तूत भएको पत्रकार सिंहको भनाई छ । पत्रकार सिंहमाथि आक्रमण गर्ने गोठकोयलपुर २ का ३० वर्षीय नविन गोहिवार समेत सोही गाविसका २५ वर्षीय राजदेव गोहिवार, विषरभोरा ९ का २५ वर्षीय पुष्पेन्द्र गोइत र धनौजी ८ का ३० वर्षीय संजीवकुमार मण्डललगायत पाँच जना विरुद्ध जिल्ला प्रहरी कार्यालयले तत्काल सार्वजनिक अपराध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । उनीहरुलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याएर कडा कारवाही गर्न माग गर्दै जनकपुरस्थित पत्रकार महासंघ धनुषा शाखा, प्रेस सेन्टर, प्रेस चौतारीलगायत पत्रकारहरुको संघसंगठनले घटनाको भत्र्सना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV