२९ भाद्र २०७३, बुधबार

अध्यक्षमा रेग्मी र पाण्डेबीच तीब्र प्रतिस्पर्धा ।

नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु हुने लागेको महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म हुनेछ ।
महाधिवेशनको तयारीस्वरुप सबै जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न भई महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी अध्यक्ष डा डीला सङ्ग्रौलाले  जानकारी दिनुभयो । महाधिवेशनअन्तर्गत आगामी निर्वाचन प्रान्तीय संरचनाअनुसार ५१ सदस्यीयको हुनेछ । निर्वाचन विद्युतीय मतदान मेसिनबाट हुने छ ।
नेपाल महिला संघको अध्यक्ष पदका लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षले पार्टी नेतृ उमा रेगमीलाई उम्मेद्वार बनाउने भएको छ । महिला संघको अधिवेशन सुरु हुनु अघिल्लो साँझ पत्रकार सम्मेलन गरी रेग्मीलाई अध्यक्षको उम्मेदवार बनाउने देउवा समूहले घोषणा गरेको हो । पार्टी नेता रामचन्द्र पौडेल समूहले सांसद मीना पाण्डेलाई मंगलबार बिहान एक कार्यक्रममार्फत सार्वजनिक गरेपछि सभापति देउवा पक्षले साँझ पत्रकार सम्मेलन गरेर महिला संघकी पूर्वअध्यक्ष रेग्मीलाई उठाउने निर्णय सार्वजनिक गरेको हो ।
कांग्रेसका पुराना यी दुई नेतृ रेग्मी र पाण्डेबीच यसअघि २०५८ सालमा विराटनगरमा सम्पन्न पहिलो महधिवेशनमा पनि प्रतस्पर्धा भएको थियो । जसमा रेग्मीले पाण्डेलाई पराजित गर्दै महिला संघको प्रथम निर्वाचित अध्यक्ष बन्नु भएको थियो । कांग्रेसमा नयाँ समूहको रूपमा देखिएको नेता कृष्णप्रसाद सिटौला समूहले पनि महिला संघको नेतृत्वमा धना खतिवडालाई उठाउने गृहकार्य गरिरहेको छ ।
महाधिवशेनमा मुलुकभरबाट आउने करिब दुई हजार २०० जना प्रतिनिधि सहभागी हुँदै छन् ।  त्यसमध्ये १० जना विभिन्न देशबाट प्रतिनिधित्व गरी आउँदैछन् । २००४ साउन २४ गते स्थापना भएको महिला सङ्घको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV