२८ भाद्र २०७३, मंगलवार

काठमाडौं उपत्यकाको परम्परागत ईन्द्रजात्रा पर्व आजदेखि सुरु, वसन्तपुरस्थित हनुमानढोका दरबारमा इन्द्रजात्राको लिङगो ठड्याइँदै ।

परम्परागत रुपमा विशेष महत्व बोकेको ईन्द्रजात्रा पर्व आजदेखि काठमाडौ उपत्यकामा सुरु भएको छ । अहिले बिहान ९ बजेर ३ मिनेटमा काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको ३२ हाते लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको हो ।
इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याइन्छ । मजिपाः लाखे, हल्चोकका श्वेत भैरब, किलागलका हात्तीरुपी पुलुकिसी लगायतका देवीदेवताका नाचले प्राचीन साँस्कृतिक नगर काठमाडौंलाई संगीतमय तुल्याइनेछ । बेलुका यसवर्षभरी आफ्ना दिवंगत परिवारजनको स्मृतिमा काठमाडौंका बासिन्दाले दीप प्रज्ज्वलन गर्दै प्राचीन नगरक्षेत्र परिक्रमा गर्नेछन् ।
लिंगोसँगै काठमाडौं शहरको रक्षाको लागि चारकुनामा गाडिने लाकासी भनिने अष्टमात्रिकाको प्रतिक पनि ठड्याइने छ । यस्तै इन्द्रजात्रा सुरु भएको प्रतिक स्वरुप ललितपुर, भक्तपुर दरबार क्षेत्र लगायतका ठाँउमा पनि ससाना लिंगो ठड्याउने गरिन्छ । यस्तै, सातदिनसम्म मनाइने इन्द्रजात्राको पहिलो दिन, मंगलबार काठमाडौंका बासिन्दाले आफ्ना दिवगंत भएका आफन्तको संझनामा ३ सय ६५ वटा दीप बालेर अप्पा कु मनाउँदैछन् ।
काठमाडौंको ज्याठा, कमलाछि असन, भोटाहिटी, नयाँसडक, गणबहाल, लगन, कोहिटी, मरु, कंकेश्वरी लगायतका ठाँउमा रहेका तीन सय भन्दा धेरै देवदेवी, चैत्यमा दीप बालेर अप्पा कु मनाउने गरिन्छ । काठमाडौंको काष्ठमण्डप अगाडि इन्द्रदेवतालाई अग्लो खटमा बाँधेर राखिएको छ  ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV