२६ भाद्र २०७३, आईतवार

हरिकृष्ण गौतम,
आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक गिटी कुटेर परिवारको गुजरा चलाइरहेका म्याग्दीका दृष्टिविहीन आइतबहादुर नेपालीको सहयोगार्थ आर्थिक संकलन अभियान शुरु भएको छ । आइतबहादुरको अवस्थाका बारेमा न्यूज २४ टेलिभिजनले समाचार प्रकाशित गरेपछि सुरू भएको आर्थिक संकलन अभियान मार्फत अहिलेसम्म १ लाख ४० हजार ८६५ रुपैयाँ संकलन भएको छ ।


संकलित रकम गाउँमा एक कार्यक्रमको आयोजना गरी बेनी नगरपालिका–३ ज्यामरुककोट फापरखेतका दृष्टिविहीन नेपालीलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम बुझ्दै दृष्टिविहीन आइतबहादुरले सहयोग गर्ने सहयोगी मनहरुप्रति आभार व्यक्त गरे ।
गाउँमा चारमुरी धान आउने खेत कमाईरहेको बताउँदै नेपालीले दुईमुरी धान खेतका धनीलाई बुझाएर बाँकी आफूले राख्ने गरेको बताए । वर्षको धेरै दिन भने भोकै रात विताउँनु परेको समेत उनले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा निकै भावुक देखिएका दुईछोराका बाबु आइतबहादुरले आफूलाई पटकपटक सहयोग गर्नेप्रति धन्यवाद दिएका थिए ।
सोही अवसरमा ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले एउटा समाचारले आइतवहादुरको फेरिएको दैनिकीले उत्साहित बनाएको बताए । आइतबहादुर र उनका छोराहरूको शिक्षाका लागि सुरु भएको अभियानमा मोना यूएईका अध्यक्ष एवम् स्थानीय यूवा प्रदिप सुबेदी, सुरज सापकोटा, जापानमा रहेका भरत केसी, मानकाजी घिमिरे, कोरियाबाट भूमिराज कार्कीले १ लाख १४ हजार ८६५ संकलन गरेका थिए । त्यसैगरी बेग स्थायी घर भई हाल हङकङमा रहेकी कल्पना पुनले २१ हजार, मोना कतारका महासचिव तिलु शर्मा पौडेलले ५ हजार, पत्रकार हरिकृष्ण गौतमले २ हजार नगद सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV