२४ भाद्र २०७३, शुक्रबार

भारतले नेपाली अदुवामा लगाएको प्रतिबन्ध शुक्रवारबाट हटाएको छ । कोलकातास्थित खाद्य प्रयोगशालाले नेपाली अदुवामा कुनै विषादी नमिसिएको प्रतिवेदन दिएपछि शुक्रबारबाट निकासी खुला गरिएको हो ।

Image result for नेपाली अदुवा
यसअघि भारतले नेपाली अदुवामा ‘एल्डिकार्ड’ नामक प्रतिबन्धित विषादी फेला परेको भन्दै ‘भारतीय बजारमा प्रवेश नदिन’ आफ्ना सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो । यही परिपत्रलाई देखाएर भारतले अदुवा आयातमा रोक लगाएको थियो । करिब दुई सातादेखि कुनै पनि भन्सार नाकाबाट अदुवा भारत छिर्न नपाएपछि नेपाली कृषकहरुले भारत सरकारको कदमको विरोध गरेका थिए । नेपाली कृषक र व्यवसायीले विरोेधपछि भारतीय पक्षले पुनः गुणस्तर परीक्षण गर्न करिब एक हजार किलो नमूना कोलकाता प्रयोगशाला लगेको थियो । त्यसैको रिपोर्टमा प्रतिबन्धित औषधि नभेटिएको भन्दै शुक्रबारबाट प्रतिबन्ध हटाइएको हो । नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अनुसार प्रतिबन्ध हटेसँगै शुक्रबारबाटै नेपाली अदुवा भारत जान थालेको छ । नेपाल र भारतबीच बिहीबारबाट सुरु कृषि मन्त्रालयको सह–सचिवस्तरीय संयुक्त बैठकमा यो एजेन्डालाई प्राथमिकतासाथ उठाइएको थियो । भारतले नेपाली अदुवा छिर्न नदिएपछि अदुवा सम्बन्धी प्रस्ताव बैठकमा नेपाल पक्षले उठाएको थियो । नेपाल संसारमा चीन र भारतपछि तेस्रो ठूलो अदुवा उत्पादक मुलुक हो । आन्तरिक खपतपछि लगभग सबै अदुवा भारत निर्यात हुँदै आएको छ । नेपालले बार्षिक करोडौंको अदुवा भारत निकासी गर्दै आएको छ ।

LIVE TV