२३ भाद्र २०७३, बिहीबार

देशभर निकै तामझामका साथ शिक्षा दिवस मनाइरहँदा पर्वत जिल्लाको मालढुंगाको माझीगाउँका धेरै बालबालिकाहरुलाई भने माछा मारेर विक्री गर्नकै चटारो देखिन्थ्यो । उनीहरुलाई न शिक्षा दिवसको रौनकले छोएको थियो न त विद्यालय जान नपाउँनुको दुख नै मनमा थियो । बरु उनीहरुलाई त आफ्नो बल्छी र दुवालीमा आज कति माछा पर्ने हो भन्ने कुराको चिन्ता थियो । हुन पनि किन नहोस्,त्यही माछाको परिमाणबाट उनीहरुको विहान बेलुकीको छाकको निक्र्यौल हुने गरेको छ ।

10101
पर्वत मालढुंगाका यी बालबालिकाहरुका बाबु आमालाई मजदूरी गर्नबाटै फुर्सद छैन । उनीहरुका छोराछोरीहरु विद्यालय जाने उमेरका छन् । तर विद्यालय भने जाँदैनन् । किनभने उनीहरुलाई कालीगण्डकी नदीमा गएर दिनभरि माछा मारेर ल्याउँनुछ । त्यही माछाबाट उनीहरुले बिहान बेलुकाको तरकारीको जोहो गर्देै आएका छन् । बर्खामा नदीमा दाउरा छोप्ने अनि हिउँदमा माछा मार्नु नै आप्mनो दैनिकी भएको नदिकै छेउमा भेटिएका १२ वर्षीय यी बालक बताउँछन् ।
जिल्ला शिक्षा कार्यालय पर्वतका अनुसार जिल्लाका ७ सय ५० जना भन्दा बढी विद्यार्थीहरु अझै विद्यालय शिक्षा भन्दा बाहिर छन् । त्यसो त जिल्लाका ३३ गाविसलाई अनिवार्य तथा निशुल्क शिक्षा गाविस र २२ गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरिसकिएको छ । तर अझै धेरै बालबालिकाहरु होटल तथा घरमा भाँडा माभ्mने, बिभिन्न ग्यारेजमा काम गर्ने,सवारी साधनमा सहयोगीको काम गर्ने, निर्माणमा प्रयोग गरिने लगायतका बालश्रममा प्रयोग भैरहेका छन । जिल्लाका यस्ता बालबालिकालाई शिक्षाको मूलधारमा सहभागी गराउन बिशेष कार्ययोजना ल्याउन तयारी भैरहेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल बताउँनुहुन्छ ।
सरकारले नै निरक्षरता उन्मूलनका लागि निरन्तर शिक्षा बाहेक अभिभावक शिक्षा, नियमित शिक्षा लगायतका कार्यक्रमहरु संचालनमा ल्याएको छ । तर, यी कार्यक्रमहरु  पर्वत जिल्लामा भने लागू हुन सकेका छैनन् । पछिल्लो समय शिक्षामा लगानी बढाएको सरकारले  शिक्षा क्षेत्रका लागि प्रत्येक बर्षको बजेटमा १५ देखि २० प्रतिशत सम्म रकम बिनियोजन गर्दै आएको छ । तर मालढुंगाका बालबालिकाहरुको अवस्था र बाध्यता हेर्दा सरकारको त्यो लगानी त्यही कालीगण्डगीको बालुवामा पानी खन्याए जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV