२३ भाद्र २०७३, बिहीबार

रागिनासकोट (लमजुङ), भदौ । ऐतिहासिक एवं पर्यटकीय गाउँका रूपमा चिनिएका पूर्वी लमजुङका रागिनासकोटमा अहिले स्थानीयवासी पुनःनिर्माण र होम स्टे सञ्चालनको तयारीमा जुटेका छन् ।
भूकम्प गएको झण्डै १६ महिना भइसक्दा पनि सरकारले पुनःनिर्माण अभियान सुस्त बनाइरहँदा रागिनासकोटका बासिन्दा भने गाउँमै सहयोग भित्र्याएर पुनःनिर्माणमा जुटेका हुन् । अमेरिकी नागरिक नातासाको नेतृत्वमा गाउँ पुनःनिर्माणको काम सुरु भएको हो ।
भूकम्पले भत्काएका आफ्ना घर पुनःनिर्माण हुने भएपछि स्थानीयवासी निकै खुसी देखिएका छन् । ६५ वर्षीया विकी गुरुङले पक्की घरमा बस्न पाउँदा निकै खुसी भएको अनुभव गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “भुइँचालोले घर लग्यो, त्यसपछि त्रिपालमुनि बस्दै आएँ । धन्न मेरोे भाग्य ! अमेरिकाबाट मेरै छोरीजस्ती मान्छे आइन् र मेरो घर बनाइदिइन् । मेरोमात्रै होइन, गाउँका सबै घर बनाउँदैछिन् । सबै घर एउटै देखिने गरी बनाउने अरे । हाम्रो आमा समूहको घर पनि बनाइदिने भनेकी छन् । ”
उहाँमात्र होइन रागिनासकोटका खड्गबहादुर गुरुङ पनि अमेरिकी नागरिक नातासाप्रति निकै सम्मान प्रकट गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रा नेता जनतालाई दुई लाख रुपियाँ दिने विषयमा समेत जुँगाको लडाइँ गर्छन् । सरकारको भर परेको भए त अझै १० वर्ष हाम्रा घर बन्ने थिएनन् । एउटा सामान्य घर बनाउन झण्डै १५ लाख रुपियाँ लाग्दो रहेछ । ” सरकारले उपलब्ध गराएको रकममध्ये १५ हजार रुपैयाँभन्दा बढी नआएको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँका अधिकांश व्यक्ति गाउँ नै छाडेर बसाइँ जाने तयारीमा थिए ।
१० लाखदेखि १५ लाख रुपियाँसम्म खर्च गरेर घर बनाउनुभन्दा अन्यत्र गएर टिनको छाप्रो हालेर बस्ने योजनामा गाउँले थिए । तर नातासाले सहयोग गर्नुभएपछि सबै गाउँले गाउँमै रोकिएका छन् । कुल पाँच कोठामध्ये हरेक घरमा एक कोठा अनिवार्य रूपमा घरबास कार्यक्रमका लागि राख्नुपर्नेछ । एक किचन, एक घरबास कार्यक्रमका लागि पाहुना कोठा, तीन कोठा घरायसी प्रयोजनमा प्रयोग गर्न पाइने छ । प्रत्येक घरमा आधुनिक शौचालय निर्माण हुनेछ । प्रत्येक शौचालयमा दुई किसिमका प्यान राख्नुपर्नेछ । अनि शौचालय र स्नान कोठा बेग्लै हुनेछन् ।
शौचालय र स्नान कक्षमा अनिवार्य रूपमा टायल टाँसेको र सावर हुनुपर्ने सर्त राखिएको छ । घरबास कार्यक्रमका लागि राखिएका कोठाबाट विभिन्न १९ वटा हिमशृृङ्खला देख्न पाइनेछ । भूकम्पले भत्काएका रागिनासकोटका घरमध्ये होम स्टे सञ्चालनका लागि १४ घर आधुनिक तवरबाट पुनःनिर्माण भइरहेको छ ।
स्थानीय महŒव झल्कने गरी बनाइएको आधुनिक घरमा स्थानीय र अमेरिकी नागरिक नातासा वाजनियाकको लगानी छ । रागिनासकोटका १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माणका लागि करिब एक करोड ५० लाख रुपियाँ उहाँले स्थानीयवासीलाई सहयोग गर्नुभएको छ ।
रागिनासकोटका १४ घरमध्ये हालसम्म पाँच घर निर्माण भइसकेका छन् । बाँकी घर निर्माणको चरणमा छन् ।
वातावरणमैत्री अवधारणाअनुसार गोबरग्यास, धुवाँरहित चुलो, फोहोरमैला र पानी व्यवस्थापनका लागि कार्य भइरहेको छ । रागिनासकोटमा निर्माण हुन लागेका प्रत्येक घरमा सोलार प्यानल जडान गरिनेछन् ।
भूकम्प प्रतिरोधी घरमा गाउँले तवरबाट पिँढी, फलैँंचा, आकासे पानीको व्यवस्थापनका लागि ट्याङ्क जडान गरिने र सडक बत्ती राखिनेछ ।
रागिनासकोटमा रहेका केही पुराना घुमाउने घरलाई भने पौराणिक महŒव झल्काउन पहिलैकै स्वरूपलाई सुरक्षितसँग राखिन्छ । गुरुङ जातिको बस्ती रहेको रागिनासकोटमा उनीहरूको कला, संस्कृति जोगाउन सङ्ग्रहालयसमेत स्थापना गरिनेछ । त्यस्तै रागिनासकोटको पुनःनिर्माणसँगै कृषि पर्यटनको अवधारणा पनि सँगसँगै बढ्ने भएको छ । ‘कृषि पर्यटनको अवधारणा अनुसार प्रत्येक घरमा ग्रिन हाउस, कृषि र पशुपालनको पनि सुरुआत हुँदैछ ।
बाइसे चौबिसे राज्य शासनमा तत्कालीन राजकुमार द्रव्य शाह बसेको रागिनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट तीन घन्टाको पैदल यात्रा वा दुई घन्टाको सवारी यात्रा गर्नुपर्छ । यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छ्रे, लमजुङलगायत गरी १८ वटा हिमशृङ्खला सहजै देख्न सकिन्छ ।
शाहवंशीय राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहले सुरक्षाको जिम्मा लिई बसेको रागिनासकोट गाउँको पुनःनिर्माणसँगै यहाँ पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास स्थानीयवासीको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV