२२ भाद्र २०७३, बुधबार

हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । गत बिहीबार रातीको भीषण वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको विभिन्न स्थानमा गएको पहिरोका कारण सवारी साधन नचलेपछि यात्रुलाई सास्ती भएको हो ।

asd
म्याग्दीको बेगखोला–६ ठाडोखोलामा आएको बाढीले ११ वटा घर पुरिएको छ । यस्तै एकवटा पक्की मोटरेबल पुल र एक वटा झोलुङ्गे पुल समेत बगाएको छ । यसले गर्दा बिगत ४ दिनदेखि यस क्षेत्रको यातायात ठप्प भएको म्याग्दी जीप तथा बस सञ्चालक समितिले जनाएको छ । बेगखालामा आएको बाढीले बेलिब्रिज बगाउनुका साथै त्यस आसपासको क्षेत्रमा मात्रै झण्डै १ किलोमिटर सडक कटान गरेको थियो ।
बाढी र पहिरोका कारण भगवती–२ बैंसरीदेखि बेगखोला हुँदै भिरकाटेसम्मको ११ किलोमिटर सडक पूर्णरुपमा अबरुद्ध भएको छ । यसैगरी उत्तरी दाना गाविसको गुइँठेमा पनि पहिरोले सडक भत्काउँदा यातायात सेवा अवरुद्ध हुँदा यात्रुलाई ठाउँठाउँमा गाडी परिवर्तन गरेर आवतजावत गर्नुपर्ने अवस्था रहेको छ । सडक अवरुद्ध भई सवारीसाधन नचल्दा दैनिक हजारौं यात्रु तथा सर्वसाधारणहरु पैदलयात्रा गर्न बाध्य भएका छन् । सडक अवरुद्ध भएपछि सबैभन्दा बढी पर्यटक, कर्मचारी तथा मुस्ताङ आवतजावत गर्ने सर्वसाधारणहरु प्रत्यक्ष मारमा परेका छन् । सडककै कारण नजिकिँदै गरेको हिन्दुधर्मावलम्बीहरुको सोह्रश्राद्धमा मुस्ताङको मुक्तिनाथ पुगेर आफ्ना पितृको श्राद्ध गर्ने श्रद्धालु पनि समस्यामा पर्ने देखिएको छ ।
बेगखोलाको ठाडोखोलामा आएको बाढीका कारण कालीगण्डकी नदी थुनिदा तिब्ल्याङ खण्डमा करिब पाँचसय मिटर सडकमा पानी जम्नुका साथै सडक भत्काइदिएको छ । सडक अवरुद्ध भएपछि उत्तरी म्याग्दीको घार, भूरुङ–तातोपानी, शिख, दाना, नारच्याङ लगायतका क्षेत्रमा दैनिक उपभोग्य सामाग्रीको ढुवानीमा समस्या उत्पन्न भएको छ । यसैगरी मुस्ताङमा स्याउको सिजन शुरु भएको छ । तर किसानले स्याउ टिपेर ढुवानी गर्ने समयमा सडक अवरुद्ध हुँदा स्याउ ढुवानीमा समेत समस्या देखिएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले आगामी एक हप्ताभित्र सडक सुचारु गर्नका लागि सडक डिभिजन कार्यालय र इन्जिनियरहरुलाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले सडकमा भएको अवरोध हटाएर तत्कालै सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको बताउनुभयो ।
उत्तरी म्याग्दीको बेगखोला, दोवा, घार, शिख, भुरुङ तातोपानी, दाना, नारच्याङ र मुस्ताङसँग सडक सञ्जाल विच्छेद भएपछि अवरुद्ध भएको सडकलाई मर्मत गर्ने क्रममा भगवती गाविसमा पर्ने सामुदायिक बनको अवरुद्धले सडक नियमित सञ्चालन गर्न अझैपनि एक साता लाग्ने देखिन्छ । ठाउँठाउँमा भासिएको सडकका कारण नयाँ ट्रयाक खोल्नुपर्ने र त्यसमा समेत सामुदायिक बन र बन कार्यालयले असहयोग गरेपछि उत्पन्न विवादको मारमा उत्तरी क्षेत्रका बासिन्दा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV