२० भाद्र २०७३, सोमबार

ललितपुर, । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को ३८ औं बैठक आज प्रधानमन्त्री एवम् नास्टका कुलपति पुष्पकमल दाहालको अध्यक्षतामा सम्पन्न भएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले देशको विकास प्रक्रियामा नास्टको साथ लिनु अपरिहार्य भएको बताउँदै विज्ञान तथा प्रविधि विकासको सुचाङ्क मापनअनुसार नै अनुसन्धान प्रक्रियालाई अघि बढाउन निर्देशन दिनुभयो ।

पूरक बजेट ल्याउने सरकारको तयारी भईरहेको बताउँदै उहाँले नास्टको अनुसन्धान प्रक्रियालाई बढावा दिन बजेट वृद्धिमा पहल गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सभाले आर्थिक वर्ष २०७३÷०७४ का लागि कुल रु २९ करोड ८८ लाख ५७ हजारको बार्षिक बजेट पारित गरेको छ । उक्त रकममध्ये सरकारबाट प्राप्त अनुदान रु २२ करोड ३४ लाख २८ हजार, बैदेशिक तथा अन्य सहयोग रु. एक करोड ११ लाख २९ हजार र आन्तरिक स्रोतबाट रु. छ करोड ४३ हजार रहेको नास्टले जनाएको छ ।

बैठकले प्रत्येक वर्ष रु. ५० हजार राशीको पत्रकारिता पुरस्कार एक जना पत्रकारलाई दिईने निर्णय समेत गरेको नास्टका उपकुलपति प्राध्यापक डा.जीबराज पोखरेलले बताउनुभयो ।

सन २०२२ सम्ममा प्रतिष्ठान राष्ट्रको उन्नत अग्रेणी अनुसन्धान संस्थाको रुपमा स्थापित गराउन आवश्यक कार्य भईरहेको पनि उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV