
पर्वतमा महिलाको नाउँमा जग्गा पास गराउनेको संख्या पछिल्लो समयमा बढ्दै गएको छ । महिलाको नाउँमा जग्गा पास गराउँदा सरकारले राजश्वमा छुट दिने व्यवस्था गरेपछि यो सख्यामा वृद्धि भएको हो । गत आव २०७२÷०७३ मा पर्वतमा झण्डै एक हजार महिलाको नाममा घर जग्गा पास भएको जिल्ला मालपोत कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ । यो तथ्याङ्क गत बर्षको भन्दा बढी हो ।
गत आर्थिक वर्षमा कुल तीन हजार पाँच सय २३ वटा जग्गाको कारोबार भएकोमा महिलाको नाममा मात्रै ९ सय ९९ जग्गा पास भएको मालपोत कार्यालय पर्वतले जनाएको छ । राजश्वमा दिएको छुटसँगै महिलामा भू–स्वामित्व बढी रहेको जिल्ला मालपोत कार्यालय पर्वतका प्रमुख सुरणकुमार पौडेलले बताउनुभयो । आफ्नो नाममा जग्गा पास गराउने महिलाहरु मध्ये ६ सय १ ग्रामीण क्षेत्रका तथा बाँकि ३ सय ९८ शहरी क्षेत्रका रहेका छन् । जग्गाको कारोबार गर्नेमा शहरी क्षेत्रका भन्दा ग्रामीण महिलाहरुको संख्या बढि रहेको छ । पछिल्ला वर्षहरुमा सरकारले महिला, दलित, सहिद परिवार, अपाङ्ग, वृद्धवृद्धा, उद्योगधन्दा, हाइड्रोपावर, चिया खेतीलगायतका आठ शीर्षकमा जग्गाको स्वामित्व लिँदा जग्गा पास दस्तुरमा छुट दिने व्यवस्था गरेपछि महिलाको स्वामित्वमा जग्गा पास गर्नेको संख्या बर्षेनी बढ्दै गएको मालपोत कार्यालयका प्रमुख पौडेलले बताउनुभयो ।
सगोलको सम्पत्तिमा महिलाको पनि पुरुष सरह स्वामित्व बढाउन सरकारले महिलाको नाममा जग्गा पास गर्दा छुट दिन थालेको हो । ग्रामीण क्षेत्रका महिलाले आफ्नो नाममा जग्गा पास गरे ३० प्रतिशत र सहरी क्षेत्रमा पास गरे २५ प्रतिशत छुट दिने व्यवस्था भएसँगै यो सख्यामा बृद्धि आएको हो । नौ सय ९९ जना महिलाका नाममा जग्गा रजिष्ट्रेसन पास गरे बापत महिलालाई सरकारले ५० लाख ४० हजार आठ सय १२ रुपैयाँ छुट दिएको छ । कार्यालयले अघिल्लो वर्ष कुल दुई करोड ९० लाख ९९ हजार राजस्व संकलन गरेको थियो ।