
प्रधानमन्त्री पुष्पकमल दाहालले छुट भएका भूकम्पपीडितको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको बताउनुभएको छ ।
सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भूकम्पपीडितको सूचीमा छुट भएका वास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिन्धुपाल्चोक लगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति सरकार गम्भीर रुपमा लागिरहेको बताउँदै उहाँले भूकम्पपीडितलाई तत्काल रु एक लाख थपेर रु तीन लाख अनुदान दिइने र रु दुई लाख सहुलियत ऋण गरी रु पाँच लाख उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको प्रतिनिधिमण्डललाई जानकारी दिनुभयो । प्रधानमन्त्रीले अरनिको राजमार्ग मर्मत र तातोपानी नाका खोल्न आपूmले पहल गरिरहेको समेत बताउनुभयो ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले सिन्धुपाल्चोकको जुरेमा पहिरो गएपछि र भूकम्पपछि पनि पीडितलाई राहत र अनुदानका लागि आपूm सिन्धुपाल्चोकमा पटक पटक पुगेको स्मरण गराउनुभयो । सिन्धुपाल्चोकका सांसदको टोलीमा अमृतकुमार बोहरा, अग्निप्रसाद सापकोटा, मोहनवहादुर बस्नेत, शेरबहादुर तामाङ र रमेश लामालगायत सहभागी हुनुहन्थ्यो । प्रतिनिधिमण्डलले छुट भएका भूकम्पपीडितको नाम समावेश गर्नुपर्ने, भूकम्प र बाढीपहिरो पीडितलाई राहत, अरनिको राजमार्ग र तातोपानी नाका तत्काल पुनःसञ्चालन गर्नुपर्ने लगायत माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । रासस