१९ भाद्र २०७३, आईतवार

अघिल्लो वर्षको विनासकारी भूकम्पका कारण पानीका मुहानमै पानी कम भएपछि स्थानीय ताप्ले गाविसका वासिन्दा चिन्तित बनेका छन् ।
Image result for मुहानमा पानी घटेपछि
भूकम्प पछिको छ महिनासम्म धेरै ठाउँमा पानीका मुहान सुके पनि पछि बिस्तारै स्थानीयवासीले पुराना पानीका मुल खोजी समस्या समाधान गरेका थिए ।

सुकेका मुलमा यस वर्षको वर्षाद्मा पूर्ववत् मात्रामा नै पानी आउने आशा गरिए पनि वर्षातमा पनि विगतको भन्दा लगभग ५० प्रतिशत कम पानी आएपछि सर्वसाधारणमा चिन्ता थपिएको हो ।

हिउँद नलाग्दै पानीका मुहानमा पानी निकै कम भइसकेको असोवारीकी विष्णुकुमारी थापा बताउनुहुन्छ ।

“भूकम्प पछि लगभग छ महिना पानीका मुल सुकेपछि पानीको अभावमा निकै समस्या भोग्नुप¥यो,” उहाँले भन्नुभयो, “यस वर्षको वर्षाद्मा भूकम्प अघिकै जस्तो गरी मुलमा पानी आउने आशा गरे पनि अहिले नै आधा कम भएको छ ।”उहाँले अहिले त यस्तो अवस्था छ भने मङ्सिर पुस तिर पानीको धेरै अभाव नहोला भन्न सकिन्न भन्नुभयो ।

थापा जस्तै ताप्ले–६ की सीता रोक्कालाई पनि हिउँदमा पानी सुक्ने हो की भन्ने चिन्ताले सताएको छ ।भूकम्प पश्चात् छ÷सात महिनासम्म गाउँका पानीका मुल सुकेपछि घन्टौँ लगाएर पानी ल्याउनुपरेको स्मरण गर्दै उहाँले भन्नुभयो– “वर्षाद्को समयमा नै पानीका मुलमा कम पानी आउँदा हिउँदमा पानी नै नपाइने होकी भन्ने चिन्ताले सबैलाई सताएको छ ”
भूकम्पका कारण प्रभावित बनेका यहाँका सर्वसाधारण अझै विभिन्न समस्यासँग जुध्न बाध्य भएको अर्का स्थानीयवासी रामप्रसाद श्रेष्ठले उल्लेख गर्नुभयो ।

भूकम्प पछि ताप्लेका कोखे, आहाले र आसपासका घ्याम्पेसाल, ढुङ्गाडे, झिङ्गटेलगायतका स्थानमा पनि पानीको अभाव बढ्दै गएको अर्का स्थानीयवासी शेरबहादुर थापाले बताउनुभयो ।
“हिउँद लागेसँगै पानीको चरम अभाव हुने सम्भावनालाई दृष्टिगत गरी पानीका वैकल्पिक स्रोत खोज्नका लागि सम्बद्ध निकायले तत्काल चासो दिनुपर्ने देखिएको छ,” उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV