
काठमाडौँ सामाखुशीस्थित रेडन कलेजका सञ्चालक तथा उच्च माध्यमिक विद्यालय संघ (हिसान) का पूर्वसचिव बुद्धिप्रसाद पुडसैनीको निधन भएको छ । पुडासैनी प्रोष्टेट क्यान्सरबाट पीडित थिए । धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा पुडासैनीको आईतबार निधन भएको हो ।
पारिवारिक श्रोतका अनुसार पुडासैनी विगत नौ दिनदेखि अस्पतालमा उपचाररत थिए । गोरखा तान्द्राङ्गका स्थायी वासिन्दा उनी ५२ वर्षका थिए । उनकी श्रीमती र तीन छोरी छन् ।
पुडासैनीको शव अहिले कलेज परिसरमा श्रद्धाञ्जलीको लागि राखिएको छ ।दिउँसो दुई बजे पशुपति आर्यघाटमा दाह संस्कार गरिने कार्यक्रम रहेको छ । श्रद्धाञ्जली अर्पण गर्नका लागि रेडन कलेज परिसरमा घुँइचो लागेको छ ।