१९ भाद्र २०७३, आईतवार

मनाङ, भदौ । मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै हुनुहुन्छ । औपचारिक शिक्षामा कक्षा १ पनि अध्ययन नगर्नुभएका तमुले १० वटा पुस्तक प्रकाशन गरी सक्नुभएको छ ।

धारापानी गाविस नाचैका तमुले १० पुस्तक प्रकाशन गर्नका लागि अध्ययन भने कम्ती गर्नुभएको छैन । तत्कालीन पञ्चायतको कारण अध्ययन गर्न नपाएको बताउने तमुले तमु संस्कृतिको खोज तथा अध्ययनका लागि धेरै पहाड चढ्नु परेको बताउनुहुन्छ । “मैले पढेको छैन, तर अध्ययन गरेको छु,” उहाँ भन्नुहुन्छ, “भाषा, लिपि, संस्कृतिको खोजी गर्दै देश–विदेश पुगेको छु, तत्कालीन समयमा त्यो सजिलो थिएन ।”

उहाँ भन्नुहुन्छ, “इतिहासको जरो भेट्टाउन सजिलो भएन, धेरै पुस्तक पढेँ, धेरै बुढापाकालाई भेटेँे, पुरोहितहरुसँग सङ्गत गरेँ, परिणाम पुस्तक लेख्न सफल भएँ ।” अध्ययन सँगै विभिन्न स्थानमा भाषा, संस्कृतिको बहस गर्दा धेरै विरोध सहनु परेको उहाँ बताउनुहुन्छ । “तमुहरुको लिपि छैन भन्ने पत्ता लगाउने म हुँ”, उहाँ भन्नुहुन्छ, “यो विषयमा बोल्दा मेरो धेरै आलोचना भयो तर यथार्थ यही नै थियो ।” पछिल्लो समय मात्रै अन्य बौद्धिक तमुले आफूलाई बिश्वास र समर्थन गरेको उहाँको भनाइ छ ।

आफ्नो जातीय पहिचानको संरक्षणका लागि लेखेर सङ्घर्ष गरिरहनुभएका तमुले तमु जातिको इतिहास, धर्म संस्कारका बारेमा विभिन्न पुस्तक लेखिसक्नुभएको छ । २०४२ सालमा पहिलोपल्ट तमु नेपाली अङ्ग्रेजी शब्दावली प्रकाशन गर्नुभएका उहाँले २०७१ सालसम्म १० वटा पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV