
भूमि सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले सिद्धान्त बन्धकमा राखेर पार्टी एकता हुन नसक्ने प्रष्ट पार्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका पाण्डेले पार्टीको जिल्ला शाखाले कपिलवस्तुको तौलिहवामा आयोजना गरेको कार्यकर्ता भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेताको फाईदाका लागि पार्टी एकता त्यस्ले कुनै उपलब्धि नदिने बताउनुभयो । बिगतमा पार्टी फुटाउनेहरुले पार्टी र कार्यकर्ताको मनोभावना बुझन नसकेको उल्लेख गर्दै झण्डा र चुनाव चिन्हमा सहमति गरी पार्टी एकता नहुने स्पष्ट पार्नुभयो । मिल्न चाहनेलाई पार्टीमा बिना शर्त भित्रयाउन आफुहरु तयार रहेको जनाउदै महामन्त्री पाण्डेले कार्यकर्ता र पार्टीको नीतिमा चल्नु नै पार्टी नेतृत्वको बुद्धिमानी हुने बताउनुभयो ।
आफु मन्त्री भए पश्चात भूमि समस्या समाधानका लागि पहल सुरु गरि सकेको मन्त्री पाण्डेले जानकारी दिनुभयो। उहाँले जग्गामा मोहीका समस्या, कृषियोग्य जमिनमा गरिने प्लटिङ्गको ब्यवस्थापन र गाँउ ब्लक जग्गाको नापी तथा लालपुर्जा बितरणको कार्यलाई तीब्रता दिने योजना रहेको स्पष्ट पार्नुभयो ।