१८ भाद्र २०७३, शनिबार

विकास निर्माणका आयोजनामा काटिने रुखको २५ गुणा वृक्षरोपण गर्नुपर्ने क्षतिपूर्ति वृक्षरोपण व्यवस्थाको कार्यान्वयनमा यहाँ ढिलासुस्ती भएको छ ।

Image result for वृक्षरोपण

काटिएका रुखको क्षतिपूर्ति वृक्षारोपण गर्न ठाउँसमेत अभाव भएको भन्दै बाहिरी जिल्लामा वृक्षरोपण गर्नुपर्ने बाध्यता एकातर्फ छ भने ठाउँ पहिचान भएका वनमा पनि वृक्षरोपण गर्नमा ढिलाइ भएको पाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणको २२० केभी प्रसारण लाइन आयोजना हेटौँडाले चितवनमा ३० हजार ४४२ वटा रुख काट्न सम्झौता २०६९ सालमा गरिएको थियो । जिल्लाको लोथरदेखि सतनचुलीसम्मका राष्ट्रिय र सामुदायिक वन क्षेत्रभित्रका त्यो परिमाणको रुख काटेबापत आयोजनालाई आठ लाख ८० हजार बिरुवा रोप्नुपर्ने सम्झौतामा उल्लेख छ ।

जिल्लाका गड्यौली, अमिलेपानी, जुटपानी र हरिपुर इलाकाका सामुदायिक वन क्षेत्रभित्रका २४ हजार ७९१ रुख काट्ने सम्झौता भएकोमा २१ हजार ६६१ रुख काटिइसकेको छ । ती इलाकाका सामुदायिक वनमा तीन हजार १३० रुख काट्न बाँकी छ । संरक्षित वनको जुटपानी र हरिपुर वन क्षेत्रमा पाँच हजार ६५१ रुख काट्ने सम्झौता भएकोमा पाँच हजार ८५ रुख काटिइसकेको छ भने पाँचसय ६६ रुख काट्न बाँकी रहेको छ ।

ती काटिएका रुखको क्षतिपूर्तिका लागि ४५४ हेक्टरमा वृक्षरोपण गर्नुपर्ने हुन्छ । जिल्ला वन कार्यालय चितवनका सहायक वन अधिकृत श्यामबहादुर रिमालका अनुसार स्थान अभावका कारण जिल्लामा दुईसय ३ दशमलब ९२ हेक्टर क्षेत्रफलमा मात्रै वृक्षरोपण गरिने छ । बाँकी २५४ हेक्टर अन्य जिल्लामा वृक्षरोपण गर्न विभागमा पत्राचार गरिएको रिमालले बताउनुभयो ।

दुईसय हेक्टरमा चार लाख ५० हजार बिरुवा जिल्लाका विभिन्न सामुदायिक, मध्यवर्ती र राष्ट्रिय वन क्षेत्रमा वृक्षरोपण गर्ने योजना भए पनि हालसम्म ३२ हेक्टरमा मात्रै वृक्षरोपण भएको छ । ती क्षेत्रमा ५१ हजार २०० बिरुवा रोपिएको छ ।

रिमालका अनुसार चर्तुमुखी सामुदायिक वन जुटपानीमा आठ हेक्टर, बेलशहर मध्यवर्ती सामुदायिक वन पटिहानीमा १५ हेक्टर, ब्रम्हस्थानी मध्यवर्ती सामुदायिक वन पिप्लेमा पाँच हेक्टर र जनशक्ति मध्यवर्ती सामुदायिक वन राप्तीमा– चार हेक्टरमा मात्रै वृक्षरोपण भएको छ ।

जिल्लाका १८ वटा सामुदायिक र मध्यवर्ती वनसँग वृक्षरोपण गर्ने सम्झौता भएको छ । बिरुवा उत्पादनका लागि आयोजनाले ८ रुपैयाँ दिन्छ भने रोप्नका लागि २० रुपैयाँ दिने गरेको छ । तारबार र हेरालु सहितको खर्च आयोजनाले बेर्होर्नुपर्ने हुन्छ ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायले २०६९ सालमा सम्झौताका बखत आयोजनाले बिरुवा उत्पादन गर्ने खर्च दिइने भनिए पनि गत आर्थिक वर्षमा मात्रै त्यो खर्च दिँदा वृक्षरोपणमा ढिलाइ भएको बताउनुभयो ।

काटिएका ८० प्रतिशतभन्दा बढी रुख सालका भए पनि वृक्षरोपण गर्दा भने अन्य काठ मात्रै रोपिने गरिन्छ । वन कार्यालयका अनुसार सिसाँै, खयर, बडहर, चाँप, सिमल, म्याङ्गोस्टिम, तेजपत्ता जस्ता बिरुवा क्षतिपूर्ति वृक्षरोपणमा रोपिने गरेको छ ।

नारायणगढ– मुग्लिन सडक खण्डको क्षतिपूर्ति बिरुवा रोपियो
जिल्लामा सञ्चालित नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाको क्षतिपूर्तिबापत रोप्नुपर्ने बिरुवा भने रोपिएका छन् । सडक विस्तारका क्रममा ३०६ वटा रुख काट्नुपर्ने भएपछि त्यसको क्षतिपूर्तिबापत आठ हजार बिरुवा रोप्ने सम्झौता भएको थियो ।

यस अन्तर्गत पदमपुर सामुदायिक वनमा पाँच हेक्टर क्षेत्रफलमा आठ हजार बिरुवा रोपिएको सहायक वन अधिकृत रिमालले जानकारी दिनुभयो ।

सम्झौता गरिएअनुसार हालसम्म आयोजनाले १०० रुख काटिसकेको छ भने २०६ रुख काट्न बाँकी छ । ती बिरुवा रोप्न, तारबार गर्न र हेरालु खर्चबापत लाग्ने रकम आयोजनाले सामुदायिक वनलाई दिएको थियो ।

जिल्लाको कुल दुई लाख १८ हजार हेक्टर क्षेत्रफलमध्ये एक लाख २८ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ । जुन कुल क्षेत्रफलको ५८ प्रतिशत हुनआउँछ । जिल्लामा रहेको कुल वन क्षेत्रमध्ये ४६ हजार हेक्टर जिल्ला वन अन्तर्गत छ, भने बाँकी चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्दछ । रासस

LIVE TV