१८ भाद्र २०७३, शनिबार

काठमाडौं/नेपाल कृषि अनुसन्धान केन्द्र परिषद (नार्क)ले सानो आकारको धान र गहुँ झार्न मिल्ने प्याडल थ्रेसर निर्माण गरेको। सानो र हलुका भएको हुँदा यो मेसिन मोटर बाटो नपुगेका दुर्गम भेगमा समेत समेत सजिलै लैजान सकिने नार्कका सूचना प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले बताए।

यसले ग्रामिण किसानलाई अन्न झार्न धेरै सहज हुने भएको छ, उनले भने.’तौल कम र आकार सानो भएको हुँदा १३/१४ बर्षका केटाकेटीले नै मजाले चलाउन सक्छन्।’ यो मेसिन खुट्टाले चलाएर धान तथा गहुँको दाना बालाबाट झार्न सकिन्छ। नार्क अन्तर्गतको कृषि ईन्जिनियरिङ महाशाखाले गत बर्ष सानो आकारको प्याडल थ्रेसरको सफल परिक्षण गरेको हो। पहिलेको थ्रेसरले धान मात्र झार्न मिल्थ्यो ।

Agro-Mechanizatin-paddle-thresur

कति पर्छ मुल्य
प्याडल थ्रेसरको मुल्य २० देखि २५ हजार रुपैयाँ भन्दा बढी पर्दैन। अहिलेलाई काठमाडौं उपत्यकामा मात्र किन्न सकिने यो मेसिन किसानको आकर्षण बढेमा देशै भरी पुर्याउन सकिने उनले जानकारी दिए। नार्कले तीनवटा कम्पनीलाई यो मेसिन उत्पादनको अनुमति दिएको छ। तत्‍कालका लागि इच्छुक किसानले खुमलटार स्थित नार्कको कृषि ईन्जिनियरिङ विभागमा सम्पर्क गर्न सक्ने उप्रेतीले बताए। प्याडल थ्रेसरबाहेक नार्कले खेती गर्न सजिलो हुने अरु प्रविधी पनि गत बर्ष विकास गरेको छ।

बेलर मेसिन
नार्कले सफल परिक्षण गरेको अर्को यन्त्र हो बेलर मेसिन। यो मेसिनले तराईतिर गरिने कम्वाइन हार्बेस्टिङ (मेसिनले काट्ने र धान झारेर बोरामा भर्ने, पराल खेतमै छोड्ने) प्रविधिमा सुधार गर्दै बेलर मेसिनको परिक्षण गरेको हो। यो मेसिनले कम्बाइन हार्भेष्टिङको क्रममा खेतैमा छाडिएको पराल मुठा बाँधेर राख्नेछ। पराल उठाउन अल्छि मानेर खेतमा आगो लगाउँदा त्यसले प्रदुषण बढाउँथ्यो। मुठा बाँधेर छोडेपछि किसानले परालमा जलाउनुको साटो उठाएर बस्तुलाई खुवाउने, बिक्री गर्ने विकल्प रोज्नेछन्। अहिलेसम्म यस्ता तीन वटा मेसिन बारा जिल्लामा प्रयोगमा ल्याइ सकिएको उप्रेतीले बताए।

आलु खन्ने औजार
कोदालो, फरुवा आदीले आलु खन्दा दाना काट्टिने समस्या समाधान गर्न नार्कले आलु खन्ने औजार विकास गरेको छ। यो औजारले आलु खन्दा वा गोड्दा दाना तथा जरामा कुनै असर नगर्ने उप्रेतीले जानकारी दिए। यसले मकै गोड्न तथा उकेरा लगाउन पनि सजिलो हुने उनको भनाइ छ।

कुलो नलाग्ने ठाउँमा फल्ने धान
नार्कले यो वर्ष पानी नलाग्ने ठाउँमा आकाशे पानीको भरले फलाउन मिल्ने मसिनो जातको धानको बिउ उत्पादन गरेको छ। संस्थाले राधा १३ लाई पानी नलाग्ने ठाउँमा पनि राम्रो उत्पादन दिन सक्ने धानको रुपमा विकास गरेको हो। यो धान तराइ, पहाड दुबै इलाकामा फलाउन सकिन्छ। खेतीबालीमा मात्र होइन उन्नत पशुपालनका लागि पनि नार्कले केही सफल परिक्षण सम्‍पन्न गरेको छ। बाख्राको खान्की देखि कृतिम गर्भाधान सम्म संस्थाले अनुसन्धान पुरा गरेको हो।

खसीको तौल बढाउन सिस्नो
नार्कले लामो अनुसन्धानबाट खसी बोका फस्टाउने स्थानिय खान्की पत्ता लगाएको छ। त्यो हो, पहाडमा जहाँ तहीँ पाउने सिस्नोको धुलो। सिस्नो सुकाएर धुलो बनाइ खसी बोकाको दानामा मिसाएर खुवाउँदा सामान्य बाख्राको भन्दा धेरै तौल बढेको उप्रेतीले बताए। त्यो अनुसन्धान पश्चात नार्कले किसानलाई खसी बोकाबाट छिटो लाभ लिन सिस्नोको धुलो खुवाउने उपाय सुझाएको छ।

माछाको भुरा ओसार्न ल्वाङ्को तेल
माछापलक किसानबाट नार्कमा धेरै पटक गुनासो आयो, भुरा किनेर पोखरीमा पुर्याउँदा आधाभन्दा बढी मरि हाल्ने। त्यसको अनुसन्धान गर्दै जाँदा नार्कले ढुवानीको क्रममा भुरा धेरै चलमल गर्ने र पानीमा अक्सिजनको कमी भइ मर्ने गरेको यथार्थ पत्ता लगायो। उपाय स्वरुप एक लिटर पानीमा तीन सय मिली लिटरसम्म ल्वाङ्को तेल मिसाएर राख्दा भुरा बेहोस हुने र पोखरीमा हाले पछि होसमा आउने तथ्य पत्ता लगायो। वेहोसी भुरा चलमल गर्न नसक्ने हुँदा मृत्युदर निकै कम पाइएको उप्रेतीले बताए।

बंगुर र बाख्रामा कृत्रिम गर्भाधान
नार्कले यो वर्ष बाख्रा तथा बंगुरमा पनि कृत्रिम गर्भाधानको सफल परिक्षण गरेको छ । यसबाट माउ बाख्रा एवं बङ्गुर पालनको लागि राम्रो बोका र बिर खोजीरहन नपर्ने भएको छ। एउटा सुईको भरमा राम्रो जातको बोका या बिरको गर्भाधान गराउन सकिने उप्रेतीले जानकारी दिए।  -न्युजयग्रो

LIVE TV