१७ भाद्र २०७३, शुक्रबार

दाईजो नपाएको निहुँमा छोरीको हत्यागरी आत्महत्या प्रमाणित गरिएको भन्दै बुवा लीलाराज थापा न्यायको खोजीमा निस्किएका छन् । ओखलढुङ्गा फुलबारी गाविस घर भएका उनी मिलोमतोमा प्रहरीले घटनाबारे अनुसन्धान नगर्दा आफुले न्याय नपाएको गुनासो गरेका छन् ।

२०७२ कार्तिक १५ गते जलकिनी गाविस वडा नम्वर ६ स्थित घरमै झुण्ड्याएर छोरी विष्णुमायाको हत्या गरिएको उनको दाबी छ । तर कोही आउन नपाउँदै ज्वाइँ राजु खत्रीले डोरी फुकाइसकेको साथै घटना घटेको भोलिपल्ट सदरमुकामबाट घटनास्थल पुगेको प्रहरी टोलीले समेत कुनै प्रतिक्रिया नजनाई लासलाई पोष्टमार्टमको लागि लगेको पीडित थापाले बताए ।
लगतै आफुले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दिएको तर स्वीकृत नभएको उनको गुनासो छ ।
२०७१ साल बैशाख २७ गते विष्णुमाया र राजुबीच मागी विबाह भएको थियो । त्यस लगतै सम्पत्ति नपाएको भन्दै परिवारमा पटक पटक झगडा हुदै आएको उनले बताए । छोरीको हत्या परिवारले नै गरेको उनको दाबी छ । विभिन्न संघसंस्थामा गएर न्यायको लागि गुहार्दा समेत प्रहरी र कुनै संघसंस्थाले उनलाई सहयोग नगरेको उनको गुनासो छ ।

LIVE TV