१७ भाद्र २०७३, शुक्रबार

चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालको ५६ करोड रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष ०७२–७३ मा नेपाल सरकारबाट पूँजिगत अनुदान स्वरूप आएको ठूलो परिमाणको बजेट फ्रिज भएको हो ।

asf
गत आर्थिक वर्षमा सरकारले अस्पतालको विकास र स्तरोन्नतिका लागि विभिन्न शीर्षकमा ५६ करोड रकम पठाएको थियो । सरकारले क्यान्सर रोग फैलावटको अवस्था पत्ता लगाउने पेटस्क्यान लगायतका अन्य उपकरण खरिदका लागि उक्त रकम पठाएको थियो । अघिल्लो आर्थिक वर्षमा समेत पेटस्क्यान मेशिन खरिद गर्न विनियोजित रकम फ्रिज भएको थियो । सरकारले गत आर्थिक वर्षमा अस्पताललाई पेटस्क्यान र लिन्याक मेसिन खरिदको लागि करिव ३३ करोड, सिटी सिमिलेटरका लागि ५ करोड, मोडुलर ओटी निर्माणका लागि २ करोड, आइसियू सेटअपका लागि २ करोड र भवन निर्माणका लागि ७ करोड रुपैयाँ रकम विनियोजन गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक सिवी पुनको असक्षमता र अध्यक्ष डा. प्रकाशराज न्यौपानेको खराव नियतका कारण रकम फ्रिज भएको बोर्ड सदस्य रामप्रसाद न्यौपानेको आरोप छ ।
अस्पतालले गत आर्थिक वर्षमा कर्मचारीको तलव भत्ता बाहेक सरकारबाट अनुदान प्राप्त रकमबाट पुँजिगत रकम खर्च गर्न नसकेको अस्पताल सञ्चालक समितिका एक सदस्यले बताए । अस्पतालले गत आर्थिक वर्षमा स्वास्थ्य कर कोषबाट प्राप्त करिब २५ करोड रुपैयाँ कर्मचारीको तलब भत्तामा खर्च गरेको थियो । यसरी सरकारबाट प्राप्त अनुदान रकम फ्रिज हुनबाट जोगाउन बोर्डबाट कुनै पनि पहल नभएको कर्मचारीहरूको आरोप छ ।

LIVE TV