१७ भाद्र २०७३, शुक्रबार

गत साउनमा परेको अविरल बर्षाका कारण मोरङको लोहन्द्रा खोला र सिंगिया खोलामा आएको बाढीबाट पीडित बनेकाहरुलाई राहत वितरण गरिएको छ । बाढीबाट १५० भन्दा बढी परिवारको विचल्ली बनेको थियो ।
शुक्रबार मोरङको सिसवनी जहदामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बाढी पीडित परिवारलाई राहत हस्तान्तरण गर्नुभयो । राहतमा खाद्यान्न, लत्ताकपडा, झुल र त्रिपाल लगायतका सामग्रीहरु रहेको छ । सांसद अमृत अर्यालको सांसद विकास कोष र विभिन्न संघ संस्थाको सहयोगमा करिब डेढ लाख रुपैया बराबरका राहत सामग्री संकलन गरिएको थियो ।
गएको वर्षा मौसममा लोहन्द्रा खोला र सिंगिया खोलामा आएको बाढीका कारण मोरङको भातिगछ, मझारे,  सिसवनी जहदा, पोखरिया, बुधनगर र विराटनगरको वडा नं. १६, १७ र २२ का स्थानीयहरु डुबानमा परेका थिए ।  सो राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस नेता कार्कीले राजनीतिक स्थायीत्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव बिना मुलुकको विकास सम्भव नभएकाले सबै राजनैतिक दलहरु एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधान कार्यान्वयनबाट मात्र राजनैतिक स्थायीत्व कायम हुने विचार व्यक्त गर्नुभयो ।

LIVE TV