१६ भाद्र २०७३, बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबहाली गरे लगत्तै ४५ दिनभित्र भूकम्प पीडितलाई अनुदान वापतको रकम उपलब्ध गराउने निर्णय गरे तर अझै पीडितहरुले रकम पाउन नसकेको गुनासो गरेका छन् । गोरखा जिल्लाको ताप्ले गाविसका पीडितहरु अझै सरकारले रकम उपलब्ध गराउने आशामा छन् ।

Image result for map of gorkha
गोरखाको दुर्गम मध्ये पर्ने ताप्ले गाविसका स्थानीयहरुले भने अहिले पनि रकम पाउन नसकेको गुनासो गरेका छन् । भूकम्पको इपिसेन्टर रहेको गोरखा जिल्लाको ताप्लेमा अहिलेसम्म पीडितले पहिलो किस्ता वापतको ४५ हजार रकम पाउन नसकेका हुन् । उनीहरुले सरकारसँग आशा गर्दै छिटो रकम लिनका लागि आग्रह गरेका छन् ।
अहिले टिनको छानामुनि कष्टकर जीवन विताउन वाध्य भएका भूकम्प पीडितहरुले पहिलो किस्ता वापतको रकम उपलब्ध गराए घर बनाउन सकिन्छ कि भन्ने आशामा छन् । तर, गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने अहिलेसम्म पीडित ५८ हजार मध्ये ५० हजारसँग अनुदान सम्झौता भइसकेको दावी गर्दै बाँकी रहेकाहरुलाई पनि केही दिनभित्रै खातामा रकम उपलब्ध गराइने दावी गर्नुहुन्छ ।
गोरखा जिल्ला भूकम्पको इपिसन्टेर भएपनि पुर्ननिर्माणको काम तीव्र गतिमा अगाडि बढ्न सकेको छैन । यहाँको सरकारी र स्थानीयको ९० प्रतिशत भन्दा बढी घर क्षति भएपनि पुर्ननिर्माणको काम भने सुस्त देखिएको छ । करिव १५ हजारको भूकम्प पीडितको नाम छुटेको, निर्माणाधिन वुढीगण्डकी आयोजना स्थलमा पर्ने भूकम्प पीडितहरुलाई कसरी पुर्नवास गराउने भन्ने बिषयमा प्रशासन कार्यालय स्वयम अन्योलमा परेको छन् । वुढीगण्डकी आयोजनाबारे स्पष्ट नहुँदा त्यस क्षेत्रका पीडितलाई राहत दिन नसकिएको प्रशासनको भनाई छ । सरकारले ४५ दिनभित्र पहिलो किस्ता दिने प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न पीडितहरुले सरकारसँग माग गरेका छन् ।

LIVE TV