१६ भाद्र २०७३, बिहीबार

राजनीतिक आन्दोलनका क्रममा धनुषा र महोत्तरीबाट विभिन्न कालखण्डमा बेपत्ता भएका राजनीतिकर्मीको अवस्था अहिले पनि अज्ञात रहेको छ । तीन दशकअघि बमकाण्डको नाममा र दुई दशकअघि सशस्त्र द्वन्द्वका क्रममा यस क्षेत्रबाट बेपत्ता भएका १५ जना अझै अन्धकारमा हराइरहेका छन् ।बेपत्ता भएका जीवित वा मृत छन् रु सो सम्बन्धमा विभिन्न समयमा बनाइएका समितिहरुले पनि प्रस्ट उल्लेख गरेका छैनन् ।
विसं २०४७ फागुन १० गते सरकारद्वारा सूर्यबहादुर शाक्यको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनअनुसार २०४२ असार ६ गते बमकाण्डका नाममा पक्राउ गरिएका यस क्षेत्रका डा लक्ष्मीनारायण झा, सूर्यनाथ यादव, दिलीप चौधरी, सत्यनारायण साह, पद्मबहादुर मोक्तान, ईश्वरचन्द्र लामा र महेश्वर चौलागार्इं बेपत्ता पारिएकाहरूको पङ्क्तिमा राखिएको छ ।

त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार सशस्त्र द्वन्द्वका क्रममा धनुषा जिल्लाबाट मनोजकुमार दत्त, रामचन्द्रलाल कर्ण, छत्रकुमार महासेठ, कामेश्वर ठाकुर, सुकदेव मण्डल र तपसी मुखिया बेपत्ता छन् ।

विसं २०४२ असार १४ गते बमकाण्डको अभियुक्त बनाई जनकपुरमा निजी क्लिनिक चलाई चिकित्सा पेसामा संलग्न रहँदै आउनुभएका डा लक्ष्मीनारायण झालाई तत्कालीन एसपी नारायण सिंह गुरूङको नेतृत्वमा पक्राउ गरिएको शाक्यको प्रतिवेदनमा उल्लेख छ ।

झाका सम्बन्धमा समितिका पदाधिकारीले बुझ्दा प्रहरी फोर्समा सबैकुरा लिखित मात्र नआउने र मौखिक आदेशका भरमा पनि कति कामहरू हुने गरेको भनी जवाफ पाएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले गरेको अनुसन्धान बमोजिम सो समयमा पक्राउ परेका महेन्द्रप्रसाद सिंह, पत्रकार राजेश्वर नेपाली र मुस्लिम राइन मियाँलगायतको बयानबाट त्यसबेला त्यहाँ धेरै मानिसलाई पक्राउ गरिएको र धेरैलाई काठमाडौँ पठाइएको तथा त्यसमध्ये डा लक्ष्मीनारायण झासमेत रहेको ठहर गरिएको छ ।

हुन त यसबारे जनकपुर अञ्चल प्रहरी कार्यालयले २०४७ फागुन १ गते समितिलाई पठाएको पत्रमा बमकाण्डमा जनकपुरमा कुनै मानिस पक्राउ परेको स्रेस्ता छैन भन्ने जानकारी दिएको देखिन्छ ।

तर समितिले डा झालाई साउन ४ गतेसम्म हनुमानढोकामा र साउन ४ गतेदेखि सशस्त्र प्रहरी गण नक्सालमा प्रहरीले राखेको प्रमाण प्रस्तुत गरेको छ ।

थुनामा राखिएका बेला काठमाडौँमा २०४२ साल साउनको अन्त्यतिर थुनामै रहेका अधिवक्ता कटक मल्लले आफूसहित केही बन्दीलाई सदर प्रहरी तालिम केन्द्र महाराजगन्जमा सोधपुछ गर्न लाग्दा डा झासँगै करिब आधा घन्टा राखिएको कुरा बताएका छन् ।

त्यसरी रहँदा बोलचाल गर्न अनुमति नभएकाले कुरा गर्न नपाएको तर डा झाले औँलाका नङमा ब्लेडले काटी पिन हालेको सबैलाई देखाएको कुरा प्रतिवेदनमा उल्लेख छ ।

डा झाको क्लिनिकमा काम गर्ने सत्यनारायण साहलाई २०४२ असार १० गते प्रहरीले पक्राउ गरी असार १४ गते काठमाडौँ चलान गरेको एक महिनापछि उहाँका बुबा रामएकवाल साहले छोरालाई भेट्न जाँदा काठमाडौँ जिल्ला प्रहरी कार्यालयमा लुगा बुझाएका थिए ।

त्यसबेला प्रहरीले सामान बुझेर लिएको तर भेट गर्न नदिएको कुरा प्रतिवेदनमा उल्लेख छ । त्यसपछि छोराबारे जानकारी पाउन २०४३ असार १९ मा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिई आएकामा प्रहरीले पक्राउ गरी बुबा रामएकवाललाई अञ्चलाधीश कार्यालयमा तीनदिन थुनेको र एउटा कागजमा सही गराएर छोडेको थियो । तर सत्यनारायण साहलाई कुन मितिदेखि बेपत्ता पारियो भन्ने समितिसमक्ष तत्काल थुनामा राख्ने कुनै निकायले विवरण प्रस्तुत गरेको देखिँदैन ।

त्यस्तै, २०४२ सालको बमकाण्डको समयमा पक्राउ गरी सिरहा जेलमा रहेका सूर्यनाथ यादवलाई २०४२ असार ३१ गते काठमाडौँ केन्द्रीय कारागार चलान गरेको स्रेस्ता बनाई काठमाडौँ जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको प्रतिवेदनमा उल्लेख छ ।

यसपछि २०४२ भदौ २५ गते सूर्यनाथलाई पुनः सिरहा फिर्ता गरेको देखिए पनि २०४२ असोज १ गतेमा सगरमाथा अञ्चलाधीश कार्यालयले एउटा पत्र पठाई सूर्यनाथलाई खोटाङ कारागारमा सार्ने आदेश दिएअनुसार सिरहाबाट २०४२ असोज २ गते उदयपुर जिल्लाको सिद्धिपुर गाउँ ओख्राहा दोभानमा बास बसेका ठाउँमा राति थुनुवाले पिसाब लाग्यो भनी हत्कडीसहित दिसापिसाब गर्न लाग्दा पालेउपर जबर्जस्ती बल प्रयोग गरी हत्कडीसहित भागेको भन्ने प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

विसं २०४२ जेठ ११ गते जनकपुरबाट ईश्वरचन्द्र लामा र पद्मबहादुर मोक्तानलाई पक्राउ गरी काठमाडौँ चलान गरिएको देखिन्छ । विसं २०४२ असार २१ गते काठमाडौँ महेन्द्र पुलिस क्लबमा पु¥याई सोही दिन हनुमानढोकामा दुवैजनालाई थुनिएको समितिले पुष्टि गरेको छ ।

त्यसपछि दुवै कसरी बेपत्ता भए रु अहिले पनि अनुसन्धानको गर्भमै छ । त्यस्तै दिलीप चौधरी पनि डिल्लीबजार खोरबाट बेपत्ता रहेका छन् । रासस

LIVE TV